इटाली भाग्न खोज्ने मेलम्ची आयोजनाका आठ कर्मचारी पक्राउ

इटाली भाग्न खोज्ने मेलम्ची आयोजनाका आठ कर्मचारी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २ पुष २०७५
  • 6.9K
    Shares

क्रिष्मस डे मनाउने बहानामा कार्यक्षेत्र छाडेर काठमाडौं आएका मेलम्ची खानेपानी आयोजनाका ८ जना विदेशी कर्मचारी समातिएका छन् ।

आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीका कर्मचारीहरु भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिइएको हो । महानगरीय प्रहरी वृत्त, दरबारमार्गको टोलीले उनीहरुलाई आइतबार राति ठमेलको एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएर खानेपानी मन्त्रालयको जिम्मा लगाएको वृत्तका प्रमुख डीएसपी दानबहादुर मल्लले जानकारी दिए ।

स्रोतका अनुसार पक्राउ पर्नेमा प्रोजेक्ट म्यानेजर क्रिश्चियानो ग्रेचोसहितका कर्मचारीहरु छन् । यसअघि एक जना कर्मचारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमनले रोकेको थियो ।

अनुसन्धानका क्रममा उनैले अन्य कर्मचारी पनि भाग्न खोजेको सूचना दिएका थिए । सोही आधारमा थप ८ जना कर्मचारी पक्राउ परेका हुन् । उनीहरुले पासपोर्ट तयार पार्नेदेखि लिएर टिकट काट्न समेत भ्याइसकेका थिए ।

अहिले मन्त्रालयले उनीहरुको पासपोर्ट खोसेको छ । कम्पनीको स्थिति नाजुक बन्दै गएपछि आफूहरु स्वदेश भाग्न खोजेको पक्राउ परेकाहरुले समेत स्वीकार गरिसकेको प्रहरीको दाबी छ ।

प्रतिक्रिया