भारतीय बालकलाई अपहरण गरी नेपाल ल्याएर फिर्रौती लिन जाने संघिय समाजवादी फोरमका नेतालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, झापाको हिरासतमा रहेका अभियुक्त झापा गौरिगञ्जका ४७ वर्षीय बद्री यादव रहेका छन्। पक्राउ परेका यादव संघीय समाजवादी फोरमका नेता हुन् । उनी गत स्थानीय तहको निर्वाचनमा गौरीगञ्ज गाउँपालिकाको अध्यक्षका लागि संघीय समाजवादी फोरमका तर्फबाट उम्मेदवार बनेका थिए । त्यसअघि ०६४ र ०७० सालको निर्वाचनमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेवार बनेका थिए ।
प्रहरीका अनुसार, उनी लगायतको टोलीले भारतको सुपोलस्थित किशोरपुर थाना वडा नं. २ बाट मोहमद सद्दामका ७ वर्षीय बालक महफुज आलमलाई गएको २० गते अपहरण गरी नेपाल ल्याएका थिए।
खेलिरहेको महफुजलाई बिस्कुट दिएर फकाउँदै नेपाल ल्याई बालकका बुबालाई फिरौती वापत १५ लाख रुपैयाँ भारु माग गर्दै फोन गरिएको थोयो। ठाउँ परिवर्तन गर्दै २५ गते बिहान ४ बजेतिर फिरौती लिन पुगेका अपहरणकारीलाई प्रहरीले पक्राउ गरेपछि मात्र आपहरणकारी संघीय समाजवादी फोरमका नेता भएको खुलेको थियो। उनकै सूचनाको आधारमा प्रहरीले दमक-५, गोर्खाली टोलस्थित देउराली होटलको कोठा नं. १०७ बाट अपहरित बालकको सकुशल उद्दार गर्यो भने अञ्जुदेवी पक्राउ परिन् । थप अनुसन्धानका क्रममा श्रीप्रसाद पनि समातिए ।
पक्राउ परेका तीनै जनामाथि अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत, झापाबाट ५ दिनलाई म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिएका छन् ।