आश्रम सञ्चालक र वेश्यालय सञ्चालकको मिलेमतोमा वेश्यालयबाट उद्धार गरिएका १२ नेपाली चेली बेपत्ता

आश्रम सञ्चालक र वेश्यालय सञ्चालकको मिलेमतोमा वेश्यालयबाट उद्धार गरिएका १२ नेपाली चेली बेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ मंसिर २०७५
  • 6.8K
    Shares

भारतको राजधानी नया दिल्लीमा आश्रयस्थलबाट बेपत्ता नेपाली चेलीको खोजी माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाली

करीब एक वर्ष अघि बेश्यालयबाट उद्धार गरी भारतको राजधानी नयाँदिल्लीस्थित  संस्कार आश्रममा राखिएका १४ मध्ये १२ जना नेपाली महिलालाई फेरी आश्रम सञ्चालक र वेश्यालय सञ्चालकको मिलेमतोमा बेपत्ता बनाइएको छ ।

दिल्लीस्थित जीबीरोडमा रहेको वेश्यालयबाट २०१७ नोभेम्बरमा उद्धार गरि संस्कार आश्रममा राखिएका आठ चेलीहरू मंसिर १५ गते रातिदेखि बेपत्ता बनाइएको हो ।उनीहरूसँगै उद्धार गरिएका अन्य चारलाई यसअघि आश्रयस्थलबाटै बेपत्ता पारिएको थियो। अन्य दुईलाई भने अभिभावको जिम्मा लगाई नेपाल फर्काइएको थियो।

उनीहरू १६ देखि २२ वर्षसम्मका छन्। पछिल्लो पटक बेपत्ता भएकामध्ये तीन जना नुवाकोट र दुई जना काभ्रेका हुन्। अन्य युवतीहरू तेह्रथुम, मकवानपुर र सिन्धुपाल्चोकका हुन्।

उद्धार गरिएका सहित नौ जना मंसिर १ मा आश्रमबाट हराएपछि दिल्ली महिला आयोगले त्यहाँका उपमुख्यमन्त्री मनीष सिसौदियालाई घटनाको जानकारी गराएको थियो। युवती हराएको भन्दै सिसौदियाले दिल्लीस्थित उत्तरपूर्व जिल्लाका महिला बाल विकास विभाग अधिकारी र आश्रमका अध्यक्षलाई बर्खास्त गरिसकेका छन्।

घटना सम्बन्धमा दिल्ली पुलिसले उजुरी दर्ता गराई छानबिन थालेको छ। तर नौ दिन बितिसक्दा पनि उनीहरू फेला पर्न सकेका छैनन्। दिल्लीस्थित नेपाली पत्रकार इन्द्रकमल जैरूका अनुसार नेपाली दूतावासकै लापरबाहीका कारण चेलीहरू फेरि कोठीमा पुगेको हुन सक्ने अनुमान गरे। ‘चेलीहरूलाई नेपाल पठाउन पटक पटक दूतावासमा पत्राचार भएको, तर दूतावासले पूरै बेवास्ता गरेको पाइयो’, जैरूले  भने, ‘दिल्लीस्थित कार्यवाहक राजदूत भरत रेग्मीलाई फोन गर्दा जानकारी नभएको जवाफ दिनुभयो। कर्मचारी फेरबदल भइरहँदा चासो दिन नसकिएको जवाफ आयो।’

दिल्ली पुलिस र महिला आयोगले संस्कार आश्रम सञ्चालक र वेश्यालय सञ्चालकको मिलेमतोमै युवती बेपत्ता बनाइएको अनुमान गरेका छन्। चेली बेपत्ता प्रकरणको छानबिन दिल्लीस्थित सीबीआईले पनि गरिररहेको छ। नौ दिन बित्दा पनि नभेटिएपछि त्यहाँस्थित नेपाली समुदायले दूतावास पुगेरै विरोध सुरु गरेका छन्।

दूतावासले घर फिर्तीको पहल नगर्दा चेलीहरूलाई फेरि कोठीमै पुर्याइएको भन्दै दिल्लीस्थित नेपाली समुदायले आक्रोश पोखेका छन्। प्रदर्शनको नेतृत्व गरिरहेको अन्तर्राष्ट्रिय नेपाली समाज भारतको दिल्ली राज्य समिति संयोजक वीरेन्द्र सिंहले घटनाबारे दूतावासको ध्यानाकर्षण गराउन ज्ञापनपत्रसमेत बुझाइने जानकारी दिए। यी युवती उद्दारमा एक वर्षदेखि दिल्लीमा सक्रिय शक्ति समूहका प्रतिनिधि प्रमोद पोखरेलले उनीहरूलाई तुरुन्त नेपाल पठाउन भने पनि फर्काउने प्रक्रिया नै अघि बढ्न नपाई युवती बेपत्ता भएका बताए।

 

प्रतिक्रिया