नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवसका अवसरमा मङ्सिर ८ गते काठमाण्डौमा गर्न लागेको जनसभा र प्रदर्शनको तयारी तीव्र पारेको छ । देशभर भित्तेलेखन, तुलब्यानर टाँस्ने, प्रचार प्रसार सभा गर्ने तथा जनभेटघाट गर्ने कार्यलाई तीब्रता दिइरहेको छ ।
साताव्यापी कार्यक्रमअन्तर्गत नेकपाले आइतबार देशभर पार्टीका झन्डा र ब्यानर प्रदर्शन गरेको छ । ब्यानरमा ‘संसदीय व्यवस्था खारेज गरौँ, वैज्ञानिक समाजवाद स्थापना गरौँ, मङ्सिर ८ गते काठमाडौँ जाऔँ’ लगायत नारा लेखिएको छ ।
उता, नेकपाको जनसभा र जनप्रदर्शनलाई विफल पार्न देशका केही जिल्लामा प्रहरी प्रशासन लागेको खबरहरु प्राप्त भएका छन् । चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवसका सन्दर्भमा यही मङ्सिर ८ गते काठमाडौँ जाऔँ भनेर टाँसेको पोस्टर र ब्यानर प्रहरीले नै च्यात्दै हिँडेको फेलापरेको छ । प्रहरीले झापाको दमकमा टाँसिएको पोस्टर र ब्यानर आइतबार च्यातेको हो ।

प्रधानमन्त्री केपी वलीको निर्वाचन क्षेत्रमा विप्लव नेकपाको आन्दोलनको पोस्टर र ब्यानर किन टाँसेको ? भन्दै प्रहरीले च्यातेको झापास्थित हाम्रा संवाददाताले जनाएका छन् । कतिपय ठाउँमा प्रहरीले ब्यानर र पोस्टर कब्जासमेत गरेको छ ।
सप्तरीबाट प्राप्त समाचार अनुसार सप्तरीबाट गाईघाटतर्फ लाग्ने सडकमा पर्ने सिसवारमा पनि नेकपाको पोस्टर र ब्यानर च्यातिएको छ । पार्टीको पोस्टर र ब्यानर नच्यात्न आग्रह गर्दै नेकपाले प्रचार सामग्री च्यातिएको घटनालाई गम्भीर रूपमा लिइएको जनाएको छ ।
यसैबीच [राप्त जानकारी अनुसार, मङ्सिर ८ गते गर्न लागेको जनसभा तयारी उपसमितको बैठक आइतबार बसेको छ l बैठकमा पार्टी प्रवक्ता प्रकाण्डले मङ्सिर ८ गतेको जनसभा भव्य हुने आँकलन गर्नुभएको छ । प्रचारप्रसारलाई तीव्र पार्न नेकपाले वरिष्ठ केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज मिलनको संयोजकत्वमा गुणराज लोहनी, भीमप्रसाद चापागाईं, प्रकाश डुम्रे र मोहन खतिवडा रहेको पाँच सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरेको छ ।
बैठकमा नेकपाका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड, अर्का स्थायी समिति सदस्य सुदर्शन, पीबीएम अनिल विरहीलगायत नेताहरू उपस्थित थिए । बैठकले जनसभाको प्रचारमा भएका वालिङ, पोस्टरिङ, कोणसभा, घरदैलो, अपिललगायत प्रचारको तयारीबारे समीक्षा गरेको प्रचार समितिका सदस्य प्रकाश डुम्रेले बताएका छन् । बैठकले रेडियो, टेलिभिजन, अनलाइन तथा सामाजिक सञ्जाललाई संयोजन गर्नका लागि ठोस योजना र निर्णय भएको समितिका संयोजक मिलनले बताएका छन् ।
नेकपाले मङ्सिर ८ गते गर्न लागेको जनसभा र प्रदर्शन कार्यक्रममा पछिल्लो विकसित राजनीतिक घटनाक्रम बारे प्रवक्ता प्रकाण्डले सम्बोधन गर्ने र अागामि रणनीति बारे ठोस धारण राख्ने बताइएको छ ।
राज्य पक्षले पक्राउ गर्न सक्ने सूचना पाएपछि उक्त कार्यक्रममा महासचिव विप्लव भने नआउने भएका छन् । नेकपाले यसअघि विप्लवलाई संघीय राजधानीमा उतारेर शक्ति प्रदर्शनको तयारी गरेको थियो ।