पोखरा प्रिमियर लिग आज देखि सुरु : विराटनगर र पोखराबीच खेल

पोखरा प्रिमियर लिग आज देखि सुरु : विराटनगर र पोखराबीच खेल


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ कार्तिक २०७५
  • 9.7K
    Shares

पोखरा,  सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल) शुक्रबारबाट पाेखरामा  शुरू भएकाे छ । प्रतियोगिताको उद्घाटन खेल घरेलु टोली पोखरा पल्टन र विराटनगर टाइटन्सबीच हुनेछ । शरद भेषवाकरको कप्तानीमा पोखरा र सन्दीप लामिछानेको कप्तानीमा विराटनगर मैदानमा उत्रँदै छन् ।

विजेताले २७ लाख पाउने
पिपिएल नेपालमा आयोजित टी–२० क्रिकेटमा सर्वाधिक धनराशिको प्रतियोगिता हो । यस प्रतियोगिताको विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । योसँगै प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरहरूलाई भिजी अटोमोबाइल्सबाट सुजुकी जिक्सर १५५ सिसी मोटरसाइकल प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार रुपैयाँ र ५ हजार बराबरको विभिन्न गिफ्टह्याम्पर पाउने आयोजक क्विन्सका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए ।

पोखरामा दुई विदेशी
पोखरा पल्टनले १६ सदस्य खेलाडीमध्ये दुई विदेशी पनि समावेश गरेको छ । पोखराले अक्सनबाट १२ खेलाडी भित्र्याएको थियो । २ विदेशी र २ स्थानीय खेलाडीसहित पोखराले एक कार्यक्रमबीच टोली सार्वजनिक गरेको छ । पोखराले युएईका मोहम्मद नभिद र भारतका रविइन्दर सिंहलाई यसै साता आबद्ध गरेको थियो । स्थानीय खेलाडीका रूपमा दीपेश खत्री र सुमन घिमिरे रहेको टोलीका व्यवस्थापक सुमनराज कार्कीले बताए । भारतका खेलाडी आइसकेका छन् भने युएईका आउँदै छन् ।

यस्ता छन् ६ फ्रेन्चाइज
प्रतियोगितामा ६ सहरका ६ फ्रेन्चाइज बेस टोलीले प्रतिस्पर्धा गर्नेछन् । पोखरा पल्टन, हुलास काठमाडौं रोयल्स, चितवन राइनोज, विराटनगर टाइटन्स्, बुटवल ब्लास्टर्स र एक्पर्ट धनगढी ब्लुजले उपाधिका लागि प्रतिसपर्धा गर्नेछन् । पोखराका भेषवाकर, काठमाडौंका ज्ञानेन्द्र मल्ल, चितवनका पारस खड्का, विराटनगरका सन्दीप लामिछाने, बुटवलका सोमपाल कामी, धनगढीका दीपेन्द्रसिंहले मार्की तथा कप्तानको भूमिका निर्वाह गर्नेछन् ।

प्रतिक्रिया