सप्तरीको बलानबिहुल गाउँपालिका वडा नं. २ मा विजुलीका लागि गाडिएका पोलहरू तोडफोड गरिएको छ । कुशहा – बेल्ही सडकखण्डबाट दिघिया दक्षिणवारि टोल जोड्नका लागि गाडिएका १३ वटा पोलहरू स्थानीयहरूले भत्काइदिएका छन् ।
स्थानीय प्रहरी चौकी चन्हीका ईन्चार्ज असई पंकज सिंहका अनुसार, पोल गाडिने दिन सामान्य विवाद भएको थियो । त्यस दिन दिघिया टोलका सुरेन्द्र यादवले आफ्नो खेतमा पोल गाड्ने काम भए हथौडाले हानेर भत्काउने धम्की दिएका थिए ।
घट्नामा संलग्न रहेको भन्दै प्रहरीले अनुसन्धानका लागि दिघिया टोलका सुरेन्द्र यादव, उपेन्द्र यादव, रामदेव यादव र पथराहा टोलका हरि शाहलाई नियन्त्रणमा लिएकोमा राजनीतिक दबाबका कारण जमानतमा छोडिएको बताइन्छ । घटनामा संलग्न रहेका चन्ही टोलका सत्यनारायण गोईत र अछमितलाल चौधरी फरार रहेको श्रोतको दाबी छ । घट्नाको प्रमुख योजनाकार गोईत हुन सक्ने आशङ्का गरिएको छ । गोईत गाउँबाट फरार भई छिमेकी राष्ट्र भारतमा लुकेर बसेको अनुमान गरिएको प्रहरीको भनाई छ । विद्युत् पोल तोडफोडको घटना चार दिनअघि भए पनि सार्वजनिक हुन सकेको थिएन ।
घटनामा बलान बिहुलका अध्यक्ष दयानन्द गोईतका आफ्नै काका सत्यनारायण गोइत मुछिएकाले अनुसन्धानमा कठिनाइ भएको श्रोतको भनाई रहेको छ । अध्यक्ष गोईत “आफै बोक्सी, आफै धामी“ भएको स्थानीयहरूले आरोप लगाएका छन् । घटनाको सम्बन्धमा अध्यक्ष गोईतलाई सम्पर्क गर्दा मोबाइल बन्द रहेको थियो । अध्यक्ष गोईत उपचारका लागि पटना गएको वडा १ का सचिव रमेश मरिकले बताए ।