दक्षिण एशियामा चिनियाँ प्रभाव बढ्दो, अमेरिका र भारत चिन्तित

दक्षिण एशियामा चिनियाँ प्रभाव बढ्दो, अमेरिका र भारत चिन्तित


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २० पुष २०७४
  • 10.6K
    Shares

विधुर ढकाल / काठमाडौं

दक्षिण एसियामा चिनियाँ प्रभाव बढ्दै जाँदा भारतसँगै अमेरिकी चासो र चिन्तासमेत थपिएको छ । चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरई) सँगै दक्षिण एसियाका सम्पूर्ण देशमा चनियाँ प्रभाव बढ्दै गएको छ । पाकिस्तानमा पछिल्लो समय चिनियाँ लगानी बढ्दै जाँदा भारतसँगै अमेरिकालाई समेत यसले चिन्ता थपेको छ ।

पाकिस्तानलाई पछिल्लो १५ वर्षमा ३३ अर्ब डलर सहायता गरेको अमेरिकाले यसलाई कटौती गर्दै लैजाने संकेत देखाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चरमपन्थीहरूलाई सेल्टर दिएको आरोप लगाउँदै पाकिस्तानलाई ‘धोकेबाज र झूठा’ भनेका छन् ।

‘अमेरिकाले १५ वर्षदेखि पाकिस्तानलाई ३३ अर्ब डलरभन्दा बढी सहयोग ग¥यो तर त्यसको बदलामा झूठ र छलबाहेक केही दिएन । उसले सोच्छ, अमेरिकी नेता मुर्ख छन्,’ राष्ट्रपति ट्रम्पले ट्वीटमा भनेका छन्, ‘हामी अफगानिस्तानमा जुन आतंकवादीहरूलाई खोजिरहेका छौं, तिनीहरूलाई उसले सेल्टर दिएको छ ।’

ट्रम्पको यो ट्वीटसँगै पाकिस्तान र अमेरिकाबीचको सम्बन्धमा चिसोपन थपिएको छ । यसको केही महिनाअघि ट्रम्पले पाकिस्तानको प्रशंसा गरेका थिए । अमेरिकी राष्ट्रपतिको यो ट्वीटमाथि पाकिस्तानले पनि आफ्नो प्रतिक्रिया दिएको छ । पाकिस्तानी विदेशमन्त्री ख्वाजा आसिफले आफ्नो ट्वीटमा भनेका छन्, ‘छिट्टै राष्ट्रपति ट्रम्पको ट्वीटको जवाफ दिनेछौं ।’ उनले भनेका छन्, ‘हामी विश्वलाई सत्य भन्नेछौं, तथ्यहरू र कल्पनाबीचको फरक बताइदिनेछौं ।’

यता, पाकिस्तानका रक्षामन्त्री खुर्रम दस्तागिरले ट्रम्पको ट्वीटको जवाफमा पाकिस्तान आफ्नो मातृभूमिको रक्षामा सक्षम रहेको बताएका छन् । ‘पाकिस्तान आफ्नो मातृभूमिको रक्षाका लागि पूर्ण रूपमा सक्षम छ, पाकिस्तानका सुरक्षाकर्मी र सर्वसाधरणहरूले आतंकवादविरुद्धको लडाइँमा आफ्नो बलिदानी दिएका छन्,’उनले भनेका छन्, ‘अफगानस्तानमा अलकायदालाई परास्त गर्न पाकिस्तानले अमेरिकासँग अभूतपूर्व सहकार्य गरेको छ ।’ उनले अफगानस्तानको युद्ध आफ्नो भूमिमा लड्न नसकिने भन्दै उनले आतंकवादका लागि सुरक्षित स्थान नभएको समेत बताएका छन् ।

यता, संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानकी स्थायी प्रतिनिधि मलिहा लोधीले स्लामाबादको वासिंटनसँगको सहकार्य कुनै सहायतका आधारमा नभई आफ्नो राष्ट्रिय स्वार्थ र सिद्धान्तका आधारमा भएको प्रतिक्रिया दिएकी छन् । पाकिस्तानले अन्तर्राष्ट्रिय आतंकवादविरुद्ध विश्वमै नभएको ठूलो अप्रेसन चलाएको बताएकी छन् । राष्ट्रसंघमा बोल्दै उनले भनेकी छन्, ‘सहकार्यको सम्मान नहुने हो भने हामी अमेरिकासँगको साझेदारीमा पुनर्विचार गर्न सक्छौं, हामीले अन्तर्राष्ट्रिय आतंकवादविरुद्ध ठूलो बलिदानी दिएका छौं ।’

यता, पाकिस्तानको विदेश मन्त्रालयले ट्रम्पको ट्वीटको विषयलाई लिएर अमेरिकी राजदूत डेभिड हेलसँग स्पष्टीकरण सोधेको छ । पाकिस्तानका विदेश सचिव तेहमी जान्जुले राजदूतसँग स्पष्टीकरण लिएको बताइएको छ ।  ट्रम्पको सो ट्वीटसँगै चिनियाँ विदेश मन्त्रालयले पाकिस्तानसँगको सहकार्य थप गहिरो हुँदै जाने बताएको छ ।दुवै देशको फाइदाका लागि दुई देशबीचको सहकार्य गहिरो हुँदै जाने चीनको विदेश मन्त्रालयले जनाएको छ ।
‘हामीले यसअघि नै बताइरहेका छौं कि पाकिस्तानले आतंकवादविरुद्धको लडाइँमा ठूलो योगदान दिएकालाई अन्तर्राष्ट्रिय समुदायले स्वीकार गर्नुपर्छ,’ ट्रम्पको ट्वीटप्रति लक्षित गर्दै सोधिएको प्रश्नमा चीनका विदेश मन्त्रालयका प्रवक्ता जेन सुयाङले मंगलबारको नियमित पत्रकार  सम्मेलनमा भने ।
‘हामी पाकिस्तान र अन्य देशले आतंकवादविरुद्ध पु¥याएको योगदान र यस क्षेत्र तथा विश्वको शान्ति सुरक्षाप्रतिको प्रतिबद्धताको स्वागत गर्दछौं,’ उनले भनेका छन् ।
चिनियाँ विदेश मन्त्रालयले नदी र हिमालले जोडिएका चीन पाकिस्तान र अफगानस्तानबीच साझा स्वार्थमा रहेर साझेदारी हुने बताएका छन् । उनले तीन देशबीचको साझेदारीलाई प्राकृतिक आवश्यकता भएको बताएका छन् ।
साताअघि मात्र बेइजिङमा तीन देशका विदेश मन्त्रीबीच ८ बुँदे समझदारी भएको थियो । तीन देशबीच आतंकवाद नियन्त्रण, आपसी साझेदारीलगायतका विषयमा समझदारी  भएको थियो ।
यता, ट्रम्पको ट्वीटले भारतलाई फाइदा पुग्ने र पाकिस्तानमाथि दाबब सिर्जना हुने भारतीय विज्ञहरूले जनाएका छन् । भारतका सामरिक विषयका विज्ञ सुशान्त सरिनले बीबीसीसँगको कुराकानीका क्रममा यस्तो प्रतिक्रिया  दिएका छन् ।
‘भारतलाई फाइदा अवश्य हुन सक्छ कि पाकिस्तानमाथि आतंकवादमाथि कडाइ गर्नका लागि दबाब बन्नेछ । अमेरिकाको तर्फबाट पाकिस्तानमाथि जुन दबाब बनिरहेको छ, त्यसको वास्तविक जरा अफगानिस्तान हो,’ उनले  भनेका छन् । अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सहयोग कटौती गरे भारतलाई समेत सहयोग पुग्ने उनको विश्वास छ । चीनले पाकिस्तानमा ५७ अर्ब डलरको कोरिडोरमा चीन–पाकिस्तान इकोनोमिक कोरिडोर बनाउँदै छ ।
कोरिडोर निमार्णप्रति भारतले आपत्ति जनाउँदै आएको छ । भारत नियन्त्रित काश्मिरी भूमि हुँदै चीन र पाकिस्तानलाई जोड्ने सो कोरिडोर चीनको महŒवकांक्षी योजना हो । यसले पनि भारतलाई चिन्ता थपिरहेको छ ।

योसँगै भारतका छिमेकी देशमा चिनियाँ प्रभाव विस्तार भइरहेको छ । माल्दिभ्सले डिसेम्बरको पहिलो साता मात्रै चीनसँग खुला व्यापार सम्झौता गरेको छ ।
चिनियाँहरू बंगलादेश, पाकिस्तान, माल्दिभ्स, श्रीलंका नेपालमा आर्थिक मुद्दालाई अगाडि सारेर राजनीतिक नेतृत्वसँग सम्झौता गर्दै प्रवेश गरिरहेका छन्, यसले यस क्षेत्रमा भारतको उपस्थितिलाई कमजोर बनाउँदै लगेको देखिन्छ ।
त्यस्तै, श्रीलंकाले आफ्नो हामबान्टोता बन्दरगाह चीनलाई ९९ वर्षका लागि सञ्चालन गर्न लिजमा दिएको छ । श्रीलंकाले चीनलाई बन्दरगाह सञ्चालन गर्न दिएपछि भारतको सुरक्षा संवेशनशीलतामा प्रश्न उठेको भन्दै श्रीलंका पक्षसँग यस विषयमा कुरा गरिने भारतले बताउँदै आएको छ । यसले समेत भारतलाई चिन्ता थपेको कालिंगा इन्टरनेसनल फाउन्डेसनका अध्यक्ष ललित मानसिंहले भनेका छन् ।
चीनले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा समेत दक्षिण एसियाका भारतबाहेकका देश सहभागी हुँदै गर्दा भारत यसमा सहभागी भएको छैन । चीनले बीआरआईमार्फत आफ्नो प्रभाव बढाउँदै गर्दा भारत र अमेरिकासमेत यस क्षेत्रमा आफ्नो प्रभाव कायम राख्न प्रयत्न गरिरहेका छन् । राजधानी दैनिकबाट साभार 

प्रतिक्रिया