इराकमा आत्महत्या गरेकी युवतीको शव नेपाल ल्याउन कठिन

इराकमा आत्महत्या गरेकी युवतीको शव नेपाल ल्याउन कठिन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १४ कार्तिक २०७४
  • 12.4K
    Shares

१४ कात्तिक, काठमाडौं । इराकमा आत्महत्या गरेकी मकवानपुरकी एक युवतीको शव नेपाल ल्याउन कठिन भएको छ । कैलाश गाँउपालिका २ बैकुण्ठकी मृतक लक्ष्मी बलको शव नेपाल ल्याउन समस्या भएको हो ।

परिवारको आर्थीक स्थिति कमजोर रहेकाले खर्च जुटाउन नसक्दा शव ल्याउन नसकिएको पारिवारिक श्रोतले जनाएको छ ।
अहिले गाउँमा चन्दा संकलन भईरहेको कैलाश गाउँपालिका २ का वडा अध्यक्ष राजेन्द्र घिसिङ तामाङले जानकारी दिए ।

‘स्वैच्छिक रुपमा गाँउमा १००, २००, ५०० गरी चन्दा संकलन भईरहेको छ मैले पनि ५ हजार सहयोग गरेँ, वडा अध्यक्ष तामाङले भने, शव ल्याउन करिव ४ लाख लाग्ने रहेछ ३, ४ दिनमा बल्ल २० हजार जति मात्रै संकलन भएको छ ।’

४ लाख रकम जम्मा हुन यही गतिले महिनौ लाग्ने देखिएपछि शोकमा डुबेका परिवार झन तनावमा परेका छन् । मृतक लक्ष्मीकी श्रीमान असोक बलले सकेको आर्थीक सहयोगका लागि सवैसँग आग्रह गरेका छन् ।

उनीहरुको ५ वषर्ीया छोरी पनि छिन् । कमजोर आर्थिक स्थिति सुधार्न बैदेशिक रोजगारीका लागी ईराक गएकी लक्ष्मीको ज्यान गएसँगै परिवार यतिबेला शोकमा डुबेको छ । (राहदानी न ०८६९४१६) वाहक लक्ष्मी सिन्धुपाल्चोकका एक एजेण्ट मार्फत दुई वर्ष पहिले इराकको बसरा क्षेत्रमा पुगेकी थिइन ।

इराकमा नेपाली कामदार जान प्रतिवन्ध भए पनि भारतको बाटो हुँदै अवैध रुपमा इराक पुगेकी हुन् ।

मृत्युको खवर इस्लामावादस्थित नेपाली राजदुतावासबाट कन्सुलर सेवा विभाग काठमाडौं, जिल्ला प्रशासन कार्यालय मकवानपुर हुँदै १५ दिन अघि परिवारसम्म पुगेको थियो । तर लक्ष्मी र परिवारविचको सम्पर्क भने ६ महिना अघिबाटै टुटेको मृतकका परिवारलाई उद्धृत गर्दै वडा अध्यक्ष तामाङले जानकारी दिए ।

एम्बेसीका अनुसार लक्ष्मीको मृत्युको कारण आत्महत्या रहेको छ । मृतक लक्ष्मीका आफन्त पहल गरीदिन भन्दै वैदेशिक रोजगार विभाग, कन्सुलर सेवा विभाग देखि अनुसन्धान हुने आशामा अपराध अनुसन्धान महाशाखासम्म पुगेको तर अवैध बाटोबाट गएका कारण शव नेपाल ल्याउन पनि समस्या हुने जवाफ प्राप्त भएपछि उनीहरुमा थप पीडा परेको छ ।

प्रतिक्रिया