वर्तमान नेपाली राजनीतिक घट्नाक्रमको विश्लेषण गर्दै चिनियाँ पक्षले आगामी असोजमा आफ्नो राष्ट्रपति सि जिनपिङ्को हुने भनिएको नेपाल भ्रमण स्थगित् गर्ने सूचना पठाएको छ । बुधबार सत्तारुढ दल नेकपा माओवादी केन्द्रले केपी ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चिनियाँ पक्षले तत्काललाई आफ्नो राष्ट्रपतिको भ्रमण नगर्ने संकेतसहितको सूचना पठाएको स्रोतको दाबी छ ।
उनीहरुले नयाँ बन्ने सत्ता समिकरणको काम हेरेरमात्रै राष्ट्रपतिको भ्रमणबारे नयाँ दृष्टिकोण र कार्यातालिका सार्वजनिक गर्ने निधो गरेका छन् ।
चिनियाँ अधिकारीहरुले तत्काल सरकार परिवर्तन नगर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पटक पटक आग्रह गरेका थिए, तर अध्यक्ष दाहालले चिनियाँ पक्षको कुनै कुरा नै नसुनी कांग्रेससँगको सहकार्यमा नयाँ सरकार बनाउने निर्णयका साथ ओलीलाई दिएको समर्थन फिर्ता लिएपछि चीनको नयाँ धारणा आएको हो ।
उता भारतीय राष्ट्रपति प्रणव मुखर्जी छिट्टै नेपाल भ्रमणमा आउने तयारीमा छन् । चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण स्थगित् गरेसँगै भारतीय पक्षले आफ्नो राष्ट्रपतिलाई तत्काल नेपाल भ्रमण गराउने तयारी थालेको स्रोतको दाबी ।
राष्ट्रपति मुखर्जीको कार्यकाल अब एक वर्षमात्रै बाँकी छ । यो बचमा उनी नेपाल आउने तयारीमा त थिए, तर यति चाँडै आउने कुनै तयारी नै थिएन् ।
नेपालमा विकसित पछिल्लो राजनीतिक घट्नाक्रमसँगै भारतीय पक्षले उनको भ्रमण जतिसक्दो चाँडै गराउने र नेपालको राष्ट्रपतिको समेत भारत भ्रमण गराउने गृहकार्य थालिसकेका छन् ।
मुखर्जी नेपाल भ्रमणमा आउने निश्चित भएपनि मिति भने तय भईनसकेको स्रोतले बतायो ।
भारतीय नेताहरुले त नेपालमा विकसित पछिल्लो राजनीतिक घट्नालाई विश्लेषण गर्दै अब बन्ने नयाँ सरकारको गठबन्धनले आन्दोलनरत मधेशी मोर्चालाई समेत सरकारमा सहभागी गराएर उनीहरुको माँगलाई संशोधन मार्फत हल गर्न घुमाउरो पारामा आग्रह गरिसकेका छन् ।