विप्लव माओवादीको बढ्दो प्रभावका कारण बालुवाटार तनावमा

विप्लव माओवादीको बढ्दो प्रभावका कारण बालुवाटार तनावमा


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २६ असार २०७३
  • 20.8K
    Shares

माओबादी सेना ,विप्लब

विप्लव माओवादीका कारण बालुवाटारमा तनाव उत्पन्न भएको बुझिएको छ । विप्लव माओवादीको बढ्दो प्रभावका कारण बालुवाटार तनावमा परेकाे हाे । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा निकायका प्रमुखहरूसित देशको सुरक्षा स्थितिबारे बुझेका थिए । त्यो भेटघाटका क्रममा सुरक्षा निकायका प्रमुखहरूले आ–आफ्नो ब्रिफिङ गरेका थिए ।

तराई मधेस आन्दोलन, दक्षिणी क्षेत्रमा भारतीय घुृसपैठका विषयमा गम्भीर कुरा भएको उच्च स्रोतको दावी छ । त्यही क्रममा विप्लव माओवादीको प्रसङ्ग पनि उठेको बताइन्छ ।

विप्लव माओवादीको कुरा उठ्ने वित्तिकै प्रधानमन्त्री ओलीले अलि ठूलो स्वरमा आतंकित मुद्रामा सोधेका थिए, “विप्लवहरूसित कस्ता र कति हतियार छन् हँ ?”

प्रधानमन्त्री ओलीका प्रश्नको जवाफ दिदै सुरक्षा अधिकृतहरूले भनेका थिए– धेरै त होइन, केही घातक हतियार भएको हाम्रो सुचना छ ।जनमुक्ति सेनासित भएको हतियारको संख्या र घातक हतियारको कुरा सुनेपछि एकछिन ओलीले गम खाए । त्यसपछि उनले गम्भीर हुँदै भने, ‘यसबारे म एकपटक प्रचण्डसित कुरा गर्छु ।’

बाहिर विभिन्न पत्रपत्रिका र अन्य सञ्चार माध्यममा आएका विप्लव माओवादी सम्बन्धी कुरालाई पनि बालुवाटारमा छलफलको विषय बनाइएको स्रोतले दावी गरेको छ ।

स्रोत भन्छ, केही अधिकृतले विप्लव माओवादीलाई संकेत गर्दै ‘राष्ट्रियताको विषयमा उनीहरूले ठिकै काम गरिरहेको’ भनेका थिए । एनसेल प्रकरणपछि राज्यको सातो गएको पनि स्रोतको दावी छ । एक प्रहरी अधिकृत भन्छन्, सामान्य शक्तिले यति धेरै जिल्लामा एकैपट यत्रो आक्रमण गर्न सक्तैन ।

अहिले विप्लव माओवादीको फौजी सामर्थ्यको विषयमा व्यापक बहस भइरहेको छ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनअधिकारको रक्षाका लागि आफूले हतियार उठाउने चेतावनी दिइरहेको सन्दर्भमा यो कुराले विशेष चर्चा पाएको हो ।

अहिले विप्लवले जनयुद्ध लडेका मुख्य क्रान्तिकारी हिस्सालाई लिएर पार्टी सञ्चालन गरिरहेका छन् । भनिन्छ, विप्लव माओवादीसँग फौजी सामर्थ्य एकै दिन ७५ वटै जिल्लामा सापेक्षिक सफलता सहितका ७५ वटै फौजी हमला गर्न क्षमता छ ।

जनयुद्ध दिवस मनाउने सिलसिलामा बालाजुस्थित बाईसमा फागुन १ गते आयोजित एक कार्यक्रममा काठमाडौंका कार्यकर्ता माझ ‘लड्नै परेछ भने यत्तिको उमेरमा अझै दस वर्ष त म आफैं पनि बन्दुक बोकेरै भिड्न सक्छु ।

अब फेरि युद्ध हुने भएछ र हतियार बोकेरै लड्नुपरेछ भने अब तलका कार्यकर्ता मात्रै होइन, बलिदानको कोटा चुक्ता गर्न नेतृत्व तहबाट हामी आफैं अग्रसर हुनेछौं । जनतालाई मराएर नेता बाँच्ने र सम्झौता गरेर सत्तामा जाने कुरा अब कसैले नसोच्दा हुन्छ ।’ यो कुराले पनि बालुवाटारमा प्रवेश पाएको चर्चा छ ।

परिआए हतियार उठाउन तयार छौं भन्दै सार्वजनिक घोषणा नै गरेर पार्टीका सम्मेलनदेखि दस्तावेजसम्म र संगठनदेखि नेता–कार्यकर्तासम्म सोहीखाले तयारी हुँदै गरेको स्पष्टै देखिएको विषयमा जतिसक्दो चाँडो गम्भीर हुन नसके मुलुक पुनः सशस्त्र द्वन्द्वमा फर्कने चर्चा पनि बालुवाटारमा भएको बताइन्छ ।

२०५२ सालमा तत्कालीन माओवादीले जनयुद्ध सुरु गर्दा ऊसँग जम्मा २ थान मात्रै राइफल थिए र त्यसमध्ये पनि एउटा कामै नलाग्नेगरी बिग्रेको थियो ।

त्यसको तुलनामा हालको विप्लव माओवादीसँग अहिल्यै तत्कालीन माओवादीले करिव ६ वर्ष लडेपछि २०५८ तिर आइपुग्दा हासिल गरेको संख्या बराबरका हतियार रहेको सामान्य आँकलन सुरक्षा निकायले गरिरहेको बताइन्छ ।

हुन त विप्लव माओवादीले यतिबेला आफूसँग हतियार रहेको कुरा अस्वीकार गरिरहेको छ । र, माओवादी नेता विप्लवले ‘मानिसहरुको दिमाग नै हतियार’ भएको उल्लेख गर्दै आफूसँग हतियार नभएको तर आवश्यक परेमा ती जुटाउनु र प्रयोग गर्नु आफूहरुका निम्ति ‘कुनै आइतबारको विषय नभएको’ बताउँदै आइरहेको छ।

पश्चिम नेपालमा रहेका जनसेनाका ३ वटा ब्यारेकहरुबाट यीमध्ये सबभन्दा धेरै अर्थात् करिब १ हजारको संख्याका हतियार राज्यको हातमा नआई ‘गायब’ भएको कुरालाई अहिले सुरक्षा निकायले विशेष वाच गरेको बताइन्छ । तर, माओवादीले यो कुरालाई ठाडै अस्वीकार गर्दै आइरहेको छ ।

यसैले तत्कालीन नेकपा माओवादीसँग २०५८ र ५९ तिर रहेको फौजी–सामरिक–सांगठनिक शक्ति जति त विप्लव माओवादीसँग आजैको अवस्थामा छ । नेपाल प्रहरीको गुप्तचर विभागले यस्तो रिपोर्ट गृह प्रशासनलाई बुझाएको थियो ।

जे होस्, हतियार र संगठनको मात्रै होइन, फौजी तालिम या सैन्य–प्राविधिक जनशक्तिको कोणबाट समेत आजको विप्लव माओवादी राज्य र विपक्षीहरुले सोचे जस्तो कमजोर छैन । ऊसँग हिजो युद्ध लडेका तथा तालिमप्राप्त जनशक्तिको ठूलो हिस्सा संगठित छ र युद्धकै पहल भएमा आज अन्य माओवादी घटकमा रहेका फौजी पृष्ठभूमिका नेता–कार्यकर्ताबाट ठूलै सहयोग उक्त पार्टीले हासिल गर्न सक्ने देखिँदैछ ।

यसकारण आजको विप्लव माओवादीले फौजी रणनीति र कार्यनीति अपनाउन हिजोको जसरी ठूलो समय, श्रम, खर्च बर्चदेखि रगत बगाउनेसम्मको ‘मूल्य’ चुक्ता गर्नुपर्ने स्थिति छैन या हिजो लडेरै सिके जस्तो अब फेरि शून्यबाट सिक्नुपर्ने अवस्था पनि छैन ।

प्रधानमन्त्री ओली तथा गृहमन्त्री बस्नेतलाई आवश्यकताभन्दा बढी प्रभोकेसन गर्ने काम प्रचण्ड र उनका किचेन क्याबिनेटका मानिसहरुले गरिरहेको पनि स्रोतले दावी गरेको छ ।

स्थानीय निर्वाचनअघि तराई मधेसका पार्टीहरुलाई त ठाउँमा ल्याउन सकिएला तर विप्लव माओवादीलाई के गर्ने ? यतिखेर प्रधानमन्त्री ओलीको दिमाग यही कुराले खाइरहेको बताइन्छ ।

प्रतिक्रिया