एकै दिन दुई पटक पहिरो खस्दा मुग्लिन–नारायणगढ खण्ड फेरि अवरुद्ध भएको छ ।
शुक्रबार बिहान झरेको पहिरो पन्छाइनसकिँदै इच्छाकामना गाउँपालिका–६ कालीखोलाबाट मुग्लिनतर्फको ५ सय मिटर दूरीमा शुक्रबार दिउँसो अर्को ठूलो पहरो खसेपछि शनिबार बिहानसम्म यातायात सञ्चालन हुन सकेको छैन । अहिले दुवै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ । फेरि पहिरो गएन भने ११ बजेसम्म यातायात खुल्ने एसपी दीपक थापाले बताए ।
पहिरोले बगाएर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय ६१ वर्षीय एकबहादुर मगर छन् । सडकको डिलमा बसेका मगरलाई पहिरोले त्रिशूली किनारमा पुर्याएको थियो । प्रहरी उपरीक्षक दीपक थापाका अनुसार अपराह्न फेला परेको शव परिवारको जिम्मा लगाइएको छ ।
दुई सातायता कालीखोला र आसपास निरन्तर पहिरोले यात्रु मारमा छन् । प्रहरीका अनुसार शुक्रबार बिहानको पहिरो मध्याह्नसम्म पन्छाएर एकतर्फी यातायात सञ्चालन तयारी भइरहेका बेला फेरि खसेको थियो । साताअघि यहाँबाट ५० मिटर पश्चिम पहिरोले सुरक्षाकर्मीको गाडी बगाउँदा ३ प्रहरीको मृत्यु भएको थियो भने एक जना अझै बेपत्ता छन् । त्यसयता पानी पर्नासाथ पहिरो खस्ने गरेको छ।