वडा सदस्यको नक्कली हस्ताक्षर गरेर गाउँसभा गरेको आरोपमा सर्लाहीबाट गाउँपालिका अध्यक्ष राय पक्राउ

वडा सदस्यको नक्कली हस्ताक्षर गरेर गाउँसभा गरेको आरोपमा सर्लाहीबाट गाउँपालिका अध्यक्ष राय पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ मंसिर २०८३
  • 1.3K
    Shares

सर्लाही, २ मंसीर २०८३।

वडा सदस्यको नक्कली हस्ताक्षर गरेर गाउँसभा गरेको आरोपमा सर्लाहीबाट एक जना गाउँपालिका अध्यक्ष पक्राउ परेका छन्।

सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष ५५ वर्षीय राम सिंहासन राय वडा सदस्यको नक्कली हस्ताक्षर गरेर गाउँसभा गरेको आरोपमा पक्राउ परेका हुन्।

उनलाई मंगलबार दिउँसो अन्दाजी पांच बजे बसबरिया गाउँपालिकाको वडा नम्बर १ स्थित उनको आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। उनीविरुद्ध गाउँसभाको माइन्युटमा वडा सदस्यको हस्ताक्षर किर्ते गरेको आरोप लगाइएको प्रहरीले दाबी गरेको छ।

प्रहरीका अनुसार , मिति २०८० असार १० गते आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पेश गर्न आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो।

उक्त उजुरीका आधारमा सरकारी कागज किर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको थियो। सर्लाही जिल्ला अदालतबाट गएको कात्तिक १६ गते पक्राउ अनुमति प्राप्त भएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी वेदप्रसाद गौतमले जनाकारी दिए। उनलाई बुधबार अदालतमा पेस गरिने प्रहरीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार