गुल्मी, १ मंसीर २०८३।
जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत एक जना प्रहरी निरिक्षक आज आफ्नै निवासमा मृत भेटिएका छन्का।
जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वत कुमार केसी आफू बस्दै आएको सिनियर प्रहरी अधिकृतको निवास (क्वार्टर) मा मृत अवस्थामा भेटिएका हुन्।
उनी मंगलबार बिहान साढे ९ बजेसम्म पनि नउठेपछि सहकर्मीले झ्यालबाट छिरेर हेर्दा अचेत अवस्थामा भेट्टाए पछि तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, एसपी भिमकिरण बोगटीले बताए।
निवासको ढोका भित्रबाट चुकुल लगाइएको थियो। लामो समयसम्म ढोका नखुलेपछि प्रहरीले झ्यालबाट भित्र छिरेर उनलाई बाहिर निकालेको थियो।
उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुल्मीमा राखिएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको कारण यकिन हुने एसपी बोगटीले जानकारी दिए। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
सुर्खेतको छिन्चु स्थायी घर भएका केसी पछिल्लो समय नेपालगञ्जमा बस्दै आएका थिए। उनी २०५५ सालमा प्रहरी सहायक निरीक्षक (असई) बाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन्।