डोटी, २८ कार्तिक २०८३।
डोटीमा वनभोजबाट घर फर्किंदै गरेका यात्रु बोकेको बोलेरो जिप शुक्रबार साँझ पल्टिँदा ११ जना घाइते भएका छन्।
जिल्लाको बगलेकबाट सिलगढीतर्फ आउँदै गरेको से १ ज ४७३ नम्बरको बोलेरो जिप दिपायल सिलगढी नगरपालिका–६ स्थित सिलगढी–बगलेक भित्री सडकखण्डमा शुक्रबार साँझ साढे ७ बजे ब्रेक फेल भएर सडकमै उत्तानो अवस्थामा पल्टिएर दुर्घटनाग्रस्त हुँदा ११ जना घाइते भएका हुन्।
प्रहरीका अनुसार , दुर्घटनामा घाइते हुने सबै दिपायल सिलगढी नगरपालिका–५ निवासी हुन्। उनीहरू ११ देखि ५५ वर्ष उमेर समूहका छन्। घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पुर्याइएको छ। प्रहरीका अनुसार घाइतेमध्ये चार जनाको अवस्था मध्यम र सात जनाको अवस्था सामान्य रहेको छ।
मध्यम घाइते हुनेहरू:
५५ वर्षीय रविन्द्र बाघचन, ५३ वर्षीया सत्यदेवी बाघचन, ३१ वर्षीय दिपेन्द्र देवाल र ११ वर्षीय बर्मान नेपाली।
सामान्य घाइते हुनेहरू:
१३ वर्षीय संजय राजत, २६ वर्षीया अञ्जली बब्सन, १२ वर्षीय हेन्सन न्यौपाने, ११ वर्षीय अरमान सिंह, ४० वर्षीया सम्झना टेलर, १४ वर्षीय ग्रेट नेपाली र ३८ वर्षीय सन्तोष देउजा।
दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दको कमान्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
दुर्घटनापछि फरार भएका जिप चालक दिपायल सिलगढी नगरपालिका–२ निवासी चार्जर लामिछानेलाई प्रहरीले राति ८:५५ बजे नियन्त्रणमा लिएको छ। दुर्घटनाग्रस्त जिप घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।