ममता काफ्ले प्रकरण : पति नरेश भट्टले अदालतमा अपराध स्वीकार गरे

ममता काफ्ले प्रकरण : पति नरेश भट्टले अदालतमा अपराध स्वीकार गरे


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २१ कार्तिक २०८३
  • 494
    Shares

काठमाण्डौ, २० कार्तिक २०८३।

ममता काफ्ले प्रकरणमा उनका पति नरेश भट्टले अदालतमा आफ्नो अपराध स्वीकार गरेका छन्।

अदालतमा बयानका क्रममा उनले ममता बेडरुममा अचेत अवस्थामा भेटिएको, बान्ता गरेको र छेउमा कीटनाशक औषधि देखेको दाबी गरेका छन्। त्यसपछि आफूले सिपिआर दिएर बचाउने प्रयास गरेको उनको भनाइ छ।

प्रहरीलाई किन खबर नगरेको भन्ने प्रश्नमा उनले आत्तिएर र डराएर फोन गर्न नसकेको बयान दिएका छन्। उनले ममताको मृत्यु भएपछि आफूले पनि आत्महत्याको प्रयास गरेको तर नसकेको दाबी गरेका छन्।

बयान अनुसार त्यसपछि आत्तिएर उनले शव लुकाउने प्रयास गरेका थिए। सुरुमा नदीमा फाल्ने योजना बनाए पनि नसकेको र फोहोर फाल्ने भाँडोमा पनि नअटेपछि शवलाई टुक्रा पारेर विभिन्न ठाउँमा फालेको उनले बताएका छन्।

यसअघि नरेशले ममता दुई वर्षदेखि घर छोडेर हिँडेको र सम्पर्कमा नआएको बताउँदै आएका थिए।

नेपाली नर्स ममता काफ्ले भट्टको रहस्यमय बेपत्ता प्रकरणमा हत्या अभियोग खेपिरहेका उनका पति नरेश भट्टले अमेरिकाको भर्जिनिया राज्यस्थित प्रिन्स विलियम काउन्टी सर्किट कोर्टमा नोभेम्बर ४ मा भएको सुनुवाइका क्रममा प्रतिरक्षा पक्षका साक्षीका रूपमा उपस्थित भएर बयान दिई रहेका छन् ।

अदालतमा सरकारी वकिलले ममता बेपत्ता हुनुअघिका दम्पतीबीच भएका टेक्स्ट म्यासेज देखाउँदै नरेशलाई सम्बन्धमा भएको तनाव र शारीरिक हिंसाबारे प्रश्न गरेका थिए।

जवाफमा नरेशले आफूले ममतामाथि शारीरिक हिंसा नगरेको दाबी गर्दै मानसिक तथा भावनात्मक तनाव भने दिएको स्वीकार गरे।

उनका अनुसार सन् २०२४ को सुरुवातदेखि नै उनीहरूबीच दैनिकजसो विवाद हुने गरेको थियो। आफूले ममतासँग सम्बन्धविच्छेद गर्ने धम्की दिने गरेको र ममताले पनि आत्महत्या गर्ने धम्की दिने गरेको उनले अदालतमा बताए।

नरेशले ममतासँगको वैवाहिक सम्बन्ध बिग्रनुमा आपसी असमझदारी र निरन्तरको विवाद जिम्मेवार रहेको दाबी गरेका छन्।

तर, ममताका परिवार र साथीहरूले यसअघि अदालतमा दिएको बयानले भने फरक तस्बिर प्रस्तुत गरेको छ। ममताका भाइ महेश काफ्लेले दिदीले आफूलाई शरीरमा चोट र नीलडाम देखिने तस्बिर पठाएको बताएका थिए। ममताकी साथी सरिता न्यौपानेले पनि नरेशले ममतालाई कुटपिट गर्ने गरेको कुरा ममताले आफूलाई सुनाएको अदालतमा बताएकी थिइन्।

हत्या अभियोग भने अस्वीकार

नरेशले अदालतमा दिएको बयानलाई हत्या स्वीकार गरेको अर्थमा बुझ्न मिल्दैन। उनले आफूमाथि लागेको प्रथम श्रेणीको हत्या, शव लुकाएको र शवमाथि दुर्व्यवहार गरेको अभियोग अस्वीकार गर्दै आएका छन्।

सरकारी पक्षले भने ममताको हत्या गरी शव लुकाइएको दाबी गर्दै रगत तथा डीएनए परीक्षण, विद्युतीय आरी, घरमा भेटिएका शंकास्पद दाग, सीसीटीभी फुटेज, इन्टरनेट खोज तथा अन्य प्रमाण अदालतमा प्रस्तुत गरेको छ।

ममता सन् २०२४ जुलाईको अन्त्यदेखि भर्जिनियाको मनासस पार्कस्थित घरबाट बेपत्ता भएकी थिइन्। उनको शव अहिलेसम्म फेला परेको छैन।

नरेशविरुद्धको मुद्दामा अभियोजन र प्रतिरक्षा पक्षबीच बहस जारी छ। अदालतबाट अन्तिम फैसला आइसकेको छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार