ओखलढुङ्गा, २१ असोज २०८३।
बोका किनबेचको क्रममा नक्कली नोट दिएको आरोपमा ओखलढुङ्गाबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा चम्पादेवी गाउँपालिका केउरिनीका २१ वर्षीय कृष्ण खत्री र ३३ वर्षीय ध्रुवबहादुर खत्री रहेका छन्।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक (डिएसपी)राजबाबु महर्जनका अनुसार, सुनकोशी गाउँपालिका-९, ककनीमा स्थानीय हस्तबहादुर तामाङ र वीरबहादुर तामाङसँग तीन वटा बोका खरिद गर्दा उनीहरूले २८ हजार रुपैयाँको कारोबार गरेका थिए। सो कारोबारमा १९ हजार रुपैयाँ बराबरको १९ थान एक हजार दरका नक्कली नोट प्रयोग गरेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको डिएसपीम महर्जनले जानकारी दिए ।
प्रारम्भिक सोधपुछका क्रममा उक्त नक्कली नोट काठमाडौँबाट ल्याएको खुलेको डिएसपी महर्जनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।