पोखरा, २० असोज २०८३ ।
पोखरामा पर्यटकलाई दुःख–हैरानी दिने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा सञ्चालन गरेको ‘स्वीप अप्रेसन’का क्रममा पर्यटकलाई दुःख–हैरानी दिने १५ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार , जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयबाट परिचालित टोलीले आज पोखरा महानगरपालिकाअन्तर्गत पृथ्वीचोक, सभागृहचोक र सृजनाचोक क्षेत्रमा स्वीप अप्रेसन सञ्चालन गरेको थियो। त्यस क्रमम सर्वसाधारण तथा पर्यटकलाई जबरजस्ती सवारीसाधनमा चढाउन खोज्ने, ‘होटल मिलाइदिन्छु’ भन्दै पर्यटकको झोला तान्ने, करकाप गर्ने तथा विभिन्न किसिमले दुःख–हैरानी दिने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएकामध्ये सार्वजनिक सवारीसाधनमा जबरजस्ती चढाउन खोज्ने तथा होटल मिलाइदिने भन्दै पर्यटकको झोला तान्ने ६ जना, अफलाइन पठाओ तथा इन्ड्राइभका ८ जना चालक र एक जना बोलेरो जिप चालक रहेका छन्।
प्रहरीले नियन्त्रणमा लिइएका १५ जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाम पठाइएको जनाएको छ।
चाडपर्वको समयमा पोखरामा पर्यटकको आवागमन बढ्ने भएकाले पर्यटकलाई अनावश्यक दुःख, हैरानी तथा जबर्जस्ती गर्ने गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ।