मुस्ताङ , १९ असोज २०८३।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय चिनियाँ टोली उत्तरी सीमा नाका कोरला हुँदै उपल्लो मुस्ताङको लोमान्थाङ पुगेको छ। राजदूत माओमिङ शनिबार कोरला नाका हुँदै लोमान्थाङ पुगेका हुन्।
नेपाल–चीनका उत्तरी सीमा नाका बाढी तथा पहिरोका कारण अवरुद्ध भएपछि वैकल्पिक नाका सञ्चालनमा ल्याउने विषयमा छलफल भइरहेका बेला चिनियाँ राजदूतको मुस्ताङ भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार चिनियाँ राजदूत कोरला नाका हुँदै मुस्ताङ आएका हुन्। उनका अनुसार राजदूतको सुरक्षाको आवश्यक व्यवस्था मिलाइएको छ।
‘चिनियाँ राजदूत कोरला नाकाबाट मुस्ताङ आउनुभएको छ। भ्रमणसम्बन्धी विस्तृत जानकारी प्राप्त भएको छैन,’ शर्माले भनिन्, ‘उहाँ कोरला नाकाबाट लोमान्थाङ आएर बस्नुभएको छ।’
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार राजदूत माओमिङ तीनदिने भ्रमणका क्रममा लोमान्थाङ पुगेका हुन्। टोलीमा राजदूतसहित पाँच जना चिनियाँ अधिकारी तथा नेपालस्थित चिनियाँ दूतावासका दुई जना कर्मचारी छन्।
टोली लोमान्थाङस्थित होटल मण्डलामा बसेको छ। भ्रमणका क्रममा टोली लोमान्थाङबाट जोमसोम आउने कार्यक्रम रहेको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए।
जोमसोमस्थित होटल सिन्तामणि रिसोर्टमा नेपाल र चीनका सम्बन्धित अधिकारीबीच कोरला नाका सञ्चालन तथा व्यवस्थापनका विषयमा बैठक बस्ने तयारी गरिएको छ। जोमसोम आएर बैठक सम्पन्न गरेपछि राजदूत माओमिङ पुनः लोमान्थाङ फर्किने कार्यक्रम रहेको बताइएको छ।
भ्रमणको तेस्रो तथा अन्तिम दिन राजदूत माओमिङ लोमान्थाङबाट कोरला नाका हुँदै चीन फर्किने कार्यतालिका रहेको छ।
यसअघि चिनियाँ दूतावासको पहलमा सरकारी अधिकारीसहितको टोलीले सिन्धुपाल्चोकस्थित तातोपानी नाकासम्मको सडक तथा भौतिक अवस्थाको स्थलगत निरीक्षण गरेको थियो। त्यसपछि मुस्ताङको कोरला नाकासम्मको अवस्था समेत अवलोकन गरेर कुन नाका सञ्चालनमा ल्याउन उपयुक्त हुन्छ भन्ने विषयमा निर्णय गर्ने तयारी गरिएको थियो।
गत भदौ १० गतेको बाढीले रसुवागढी–केरुङ नाका अवरुद्ध भएपछि नेपाल–चीनबीचको नियमित सीमा व्यापार तथा आवागमन प्रभावित हुँदै आएको छ। त्यस्तै तातोपानी नाका पनि अवरुद्ध अवस्थामा रहेकाले वैकल्पिक रूपमा कोरला नाका सञ्चालन गर्ने सम्भावनालाई महत्वका साथ हेरिएको छ।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार कोरला नाकाको समग्र वस्तुस्थिति बुझ्न तथा नाका पूर्ण रूपमा सञ्चालन गर्ने सम्भावनाबारे स्थलगत अनुगमन गर्न चिनियाँ राजदूत मुस्ताङ आएका हुन्।
उनका अनुसार नेपाल–चीन उत्तरी सीमा नाका कोरला हुँदै चिनियाँ राजदूतको यो पहिलो उच्चस्तरीय भ्रमण हो।
बाढीपहिरोका कारण प्रमुख उत्तरी नाका अवरुद्ध रहेका बेला चिनियाँ राजदूतसहितको उच्चस्तरीय टोलीले कोरला नाकाको स्थलगत निरीक्षण गर्नुले आगामी दिनमा उक्त नाका सञ्चालन तथा विस्तारका विषयमा महत्वपूर्ण निर्णय हुन सक्ने अपेक्षा गरिएको छ।