पोखरा, १८ असोज २०८३ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरेका छन। उक्त भेटमा मुख्यमन्त्री पाण्डेले अर्थमन्त्री वाग्लेसँग बाढीपहिरोले क्षतिग्रस्त सडक, पुल र अन्य भौतिक संरचनाको पुनर्निर्माणका लागि संघ सरकारसँग स्रोत व्यवस्थापन गरिदिन आग्रह गरे।
मुख्यमन्त्री पाण्डेले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर असोज ९ देखि ११ गतेको अविरल वर्षाले गण्डकीमा ३० जनाभन्दा बढीको ज्यान गएको र मनाङ, म्याग्दी, बागलुङ, पर्वत लगायत जिल्लामा ठूलो क्षति पुगेको जानकारी गराएका हुन्।
उनले बेनी–जोमसोम–कोरला, मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर र बेँसीसहर–मनाङ सडक तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन आग्रह गरे। चाडपर्व नजिकिएकाले सडक नखुले नागरिकले सास्ती भोग्ने उनको भनाइ थियो।
भेटमा पाण्डेले प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरी राहत र पुनर्निर्माणलाई प्राथमिकता दिन, घरेलु मदिराको अन्तःशुल्क समस्या समाधान गर्न, औषधीय गाँजा खेतीको कानुन कार्यान्वयन र राइड सेयरिङका कानुनी जटिलता हटाउन सहजीकरण गर्न पनि आग्रह गरे।
अर्थमन्त्री वाग्लेले विपद्पछिको पुनर्निर्माण र अन्तःशुल्कसम्बन्धी विषयमा सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्।