बेनीको न्युरोडमा पहिरो खसेपछि मध्यरातमा भागाभाग : सुरक्षित स्थानमा जान प्रहरीको आग्रह

बेनीको न्युरोडमा पहिरो खसेपछि मध्यरातमा भागाभाग : सुरक्षित स्थानमा जान प्रहरीको आग्रह


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १५ असोज २०८३
  • 570
    Shares

म्याग्दी, १५ असोज २०८३।

मध्यरातमा बजारमाथिको पाखोबाट पहिरो खसेपछि म्याग्दी सदरमुकाम बेनी बजारको न्युरोडमा स्थानीय बासिन्दाहरुको भागाभाग भएको छ। त्यसमा पनि प्रहरीले न्युरोड पछाडिको पाखोमा पहिरो खसेको भन्दै सडकमा निस्किएका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेपछि मध्यराती भाग्ताभाग भएको हो।

म्याग्दी सदरमुकाम बेनी स्थित न्युरोडको माथिल्लो भागबाट पहिरो संगै बगेको पानी र ढुंगा माटो घरहरुको पछाडी पट्टी थुप्रिएकोे छ ।पानी बाहिर सडकमा बग्न थालेको छ । जोखिमयुक्त घरहरुका नागरिकहरुले ठाउँ छाडेर राती नै खाली गरेका छन् । कुनै अप्रिय घटना हुन नदिन अहिले पहिरो स्थलमा सुरक्षाकर्मी परिचालन भएका छन् ।

कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको बेनी बजारको शिरतर्फको पाखोमा पछिल्ला केही दिनदेखि जमिन चर्किँदै गएको र बुधबार बिहान पहिरो खसेको स्थानीयले बताएका छन्। पहिरोको चिरा बढ्दै गएपछि न्युरोड तथा आसपासका क्षेत्रमा जोखिम बढेको छ।

लगातारको वर्षाका कारण म्याग्दीका विभिन्न स्थानमा पहिरोको जोखिम बढेको छ। जिल्लाका बेनी–दरबाङ, बेनी–पाखापानीलगायत सडकखण्डमा पहिरोका कारण यातायातसमेत प्रभावित भएको प्रहरीले जनाएको छ। जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले पहिरोग्रस्त क्षेत्रको अवस्था जोखिमपूर्ण रहेकाले अनावश्यक रूपमा सडक तथा पहिरो आसपास नजान र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई आग्रह गरेको छ। आपत्कालीन अवस्थामा जिल्ला प्रहरी कार्यालय म्याग्दीको ९८५७६२५५५५ नम्बरमा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।

प्रहरीले लगातारको वर्षाका कारण थप पहिरो खस्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्र, भीरपाखा तथा पहिरोग्रस्त स्थानमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ।

प्रतिक्रिया