हिमलुङ हिमपहिरो : दुई शव काठमाडौं ल्याइयो, १४ जना अझै सम्पर्कविहीन

हिमलुङ हिमपहिरो : दुई शव काठमाडौं ल्याइयो, १४ जना अझै सम्पर्कविहीन


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १२ असोज २०८३
  • 532
    Shares

काठमाडौं, ११ असोज २०८३।
मनाङको हिमलुङ हिमाल क्षेत्रमा गएको हिमपहिरोमा परी मृत्यु भएका दुई जनाको शव काठमाडौं ल्याइएको छ। चामे अस्पतालबाट हेलिकप्टरमार्फत सोमबार बिहान दुवै शव काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको हो।

सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ घर भएका क्षेपी भोटे र सोही गाउँपालिकाको वडा नम्बर–२ घर भएका ३१ वर्षीय पासाङ भोटेको चामेस्थित अस्पतालबाट काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ।

हिमलुङ हिमाल क्षेत्रमा दुईवटा पर्यटकीय कम्पनीका २७ जना कामदार त्यहाँ पुगेका मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए।

हिमपहिरोपछि ११ जना सम्पर्कमा आएका छन् भने १४ जना अझै सम्पर्कविहीन रहेको पौडेलले जानकारी दिए। उनका अनुसार सम्पर्कविहीनमध्ये हिमालयन होलिडेजका १२ जना र एक्सपोर्टेसन कम्पनीका दुई जना रहेका छन्।

स्थानीय प्रशासनका अनुसार हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको पुष्टि भए पनि अझै १४ जना सम्पर्कविहीन छन्।

हिमलुङ हिमाल क्षेत्रमा बेस क्याम्प निर्माण, डोरी टाँग्ने तथा आरोहणका लागि आवश्यक पूर्वाधार तयार गर्ने काममा खटिएका कामदारहरू हिमपहिरोमा परेका हुन्।

घटनापछि स्थानीय प्रशासन, सुरक्षा निकाय तथा उद्धार टोलीले सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि प्रयास गरिरहेका छन्। प्रतिकूल भौगोलिक अवस्था र हिमाली क्षेत्रमा रहेको जोखिमका कारण उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको छ।

प्रशासनले सम्पर्कमा आएका कामदारको अवस्थाबारे विवरण संकलन गर्नुका साथै सम्पर्कविहीन रहेकाहरूको खोजीलाई प्राथमिकता दिएको जनाएको छ। घटनामा परी मृत्यु भएका व्यक्तिको पहिचान तथा अन्य विवरण भने सम्बन्धित निकायबाट थप पुष्टि हुन बाँकी छ।

प्रतिक्रिया