काठमाडौँ, ९ असोज २०८३ ।
प्रधानमन्त्री बालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार न्यूयोर्कमा भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघको मुख्यालयमा महासचिव गुटेरेससँग भेटवार्ता गरेका हुन्। स्थानीय समयअनुसार साँझ ६ः३० बजे भएको भेट नेपाली समयअनुसार शुक्रबार बिहान ४ः१५ बजे भएको हो।
भेटका क्रममा महासचिव गुटेरेसले भोटेकोशी क्षेत्रमा भएको विपद्मा ज्यान गुमाउने तथा प्रभावित परिवारप्रति दुःख व्यक्त गर्दै जलवायु परिवर्तनका विषयमा संयुक्त राष्ट्रसंघ नेपालसँगै रहेको बताएका थिए। उनले नेपाली युवा प्रतिनिधिमण्डलको समेत प्रशंसा गरेको जनाइएको छ।
गुटेरेसले आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै संयुक्त राष्ट्रसंघको महासचिव पदबाट अवकाश लिएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भाव र समर्थनका लागि महासचिव गुटेरेसलाई धन्यवाद दिएका थिए। साथै, उनको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री शाहले भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति व्यहोरेको जानकारी गराएका थिए।
प्रधानमन्त्री शाहले हिमताल फुट्ने जोखिम अझै कायम रहेको विषयसमेत भेटमा उठाएका थिए। त्यस क्रममा नदी किनारमा बसोबास गर्ने नागरिकको पुनर्वास तथा हरित पुनर्निर्माणका विषयमा छलफल भएको थियो।
भेटमा नेपाललाई अतिकम विकसित राष्ट्र (एलडीसी)को सूचीबाट स्तरोन्नति हुने समयसीमा थप गर्न आवश्यक सहयोग र समर्थन जुटाउने विषयमा समेत कुराकानी भएको जनाइएको छ।
यसैबीच प्राप्त जानकारी अनुसार , संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुने क्रममा प्रधानमन्त्री शाहले राष्ट्रसंघको मुख्यालयमा महासचिव गुटेरेससँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा प्रधानमन्त्री शाहले आगन्तुक पुस्तिकामा हस्ताक्षरसमेत गरेका छन्।
महासभामा सहभागी हुन प्रधानमन्त्री शाह सोमबार न्युयोर्क पुगेका थिए। महासचिव गुटेरेससँगको भेटपछि उनले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नेपाली समयअनुसार करिब बेलुका ७ बजे प्रधानमन्त्री शाहले महासभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाइएको छ।
रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट नेपालले ठूलो क्षति व्यहोरेको र उक्त विपद् जलवायु परिवर्तनसँग सम्बन्धित रहेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउन प्रधानमन्त्री शाह स्वयं महासभामा सहभागी भएका हुन्।
यसैबीच, नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले पनि महासभाका अवसरमा विभिन्न देशका उच्चस्तरीय प्रतिनिधिसँग द्विपक्षीय भेटवार्ता गरिरहेका छन्। उनले भुटानका प्रधानमन्त्रीलगायत विभिन्न देशका परराष्ट्रमन्त्रीसँग भेट गरी नेपालमा हालै आएको बाढीबाट भएको क्षति, प्रभावित संरचनाको पुनर्निर्माण तथा नेपालको हितमा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल गरेका छन्।
महासभाका क्रममा नेपालले जलवायु परिवर्तन, विपद्जन्य क्षति तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग र सहकार्यको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।