भारी वर्षाको पूर्वसूचनापछि कास्कीमा उच्च सतर्कता : रात्रिकालीन बस र पदयात्रा बन्द, ग्रामीण क्षेत्रमा चार बजेपछि सवारी रोक

भारी वर्षाको पूर्वसूचनापछि कास्कीमा उच्च सतर्कता : रात्रिकालीन बस र पदयात्रा बन्द, ग्रामीण क्षेत्रमा चार बजेपछि सवारी रोक


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ८ असोज २०८३
  • 456
    Shares

पोखरा, ८ असोज २०८३ ।

बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना बढेपछि कास्कीमा विपद् जोखिम न्यूनीकरणका लागि थप कडा सुरक्षा व्यवस्था लागू गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले यातायात, पर्यटन, जलयात्रा तथा साहसिक गतिविधिमा प्रतिबन्धसहित विभिन्न निर्णय गरेको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित प्रणालीको प्रभावले गण्डकीसहित विभिन्न प्रदेशमा वर्षाको गतिविधि बढ्ने र केही स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। विभागले २४ घण्टामा ५०–१०० मिलिमिटर वर्षालाई भारी, १००–२०० मिलिमिटरलाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढीलाई अति भारी वर्षाका रूपमा वर्गीकरण गर्छ।

रात्रिकालीन बस बन्द, ग्रामीण क्षेत्रमा ४ बजेपछि सवारी रोक

सम्भावित बाढी, पहिरो तथा सडक दुर्घटनाबाट हुने जनधनको क्षति रोक्न कास्कीबाट अन्य जिल्लातर्फ छुट्ने रात्रिकालीन बस सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको छ। त्यस्तै, ग्रामीण क्षेत्रमा सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीसाधन दिउँसो ४ बजेपछि सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ।

जिल्ला प्रशासनले मौसम पूर्वसूचना तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न र अत्यावश्यक कामबाहेक लामो तथा छोटो दूरीको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

पदयात्रा पूर्ण रूपमा बन्द

भारी वर्षाको जोखिम कायम रहेसम्म कास्कीमा सबै प्रकारका पदयात्रा बन्द गर्ने निर्णय भएको छ। अहिले पदयात्रामा रहेका पर्यटकलाई सुरक्षित स्थानमा फर्काउन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्यटन बोर्ड तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना लगायतका निकायमार्फत सूचना प्रवाह गर्ने निर्णय गरिएको छ।

कास्कीको पर्यटन गतिविधिमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्याराग्लाइडिङ, बन्जी जम्प, कायकिङ, जिपलाइन लगायतका साहसिक खेलसमेत मौसम खराब हुनेबित्तिकै बन्द गर्न निर्देशन दिइएको छ। फेवाताल र बेगनासतालमा सञ्चालन हुने डुंगा, सर्फिङ तथा कायकिङ लगायतका जल पर्यटन गतिविधि पनि रोक्न भनिएको छ।

जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्ने तयारी

बैठकले नदी तथा खोलानजिक र बाढी–पहिरोको जोखिममा रहेका बस्तीमा तत्काल सूचना प्रवाह गर्न स्थानीय तहलाई निर्देशन दिएको छ। आवश्यक अवस्था आएमा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गर्न पनि भनिएको छ। स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र, स्वास्थ्य चौकी, डोजर तथा जेसीबी तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। जोखिम मूल्यांकनका आधारमा विद्यालय बन्द गर्ने अधिकारसमेत स्थानीय तहलाई दिइएको छ।

सुरक्षा निकायलाई आवश्यक जनशक्ति र खोज तथा उद्धार सामग्रीसहित तयारी अवस्थामा रहन तथा नियमित कमान्ड पोस्ट सञ्चालन गर्न भनिएको छ। स्वास्थ्य संस्थातर्फ एम्बुलेन्स र शववाहनसहित चिकित्सक तथा नर्सलाई तयारी अवस्थामा राख्न र हेलिकोप्टर सेवा प्रदायकलाई आवश्यक परेको अवस्थामा तत्काल उडान गर्न सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

त्यस्तै, सडक डिभिजन तथा हेभी इक्युपमेन्ट डिभिजनलाई चालकसहित आवश्यक मेसिनरी तथा उपकरण तयारी अवस्थामा राख्न र रेडक्रस तथा गैरसरकारी संस्थालाई राहत सामग्रीको व्यवस्थापन गर्न भनिएको छ।

नदी तथा खोला किनारमा जान रोक

सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै नदी तथा खोला किनारमा माछा मार्ने, पौडी खेल्ने, नुहाउने, लुगा धुने, गिटी–बालुवा निकाल्ने तथा बाढीले बगाएर ल्याएका सामग्री संकलन गर्न नजान सर्वसाधारणलाई आग्रह गरिएको छ।

वर्षाको जोखिमलाई ध्यानमा राख्दै सेती सिँचाइको नहरमा जाने पानी सेती नदीमै डाइभर्ट गर्ने निर्णयसमेत भएको छ। यसैबीच बाढीले रूपा गाउँपालिका–५ सुढेला र पोखरा महानगरपालिका–३२ मालेपाटन जोड्ने झोलुंगे पुल बगाएकाले पुनर्निर्माणका लागि गण्डकी प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको छ।

बैठकमा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख/उपप्रमुख तथा सुरक्षा निकाय र विषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो। बैठकका निर्णय गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको छ।

मौसम प्रणालीको प्रभावका कारण वर्षाको अवस्था छिटो परिवर्तन हुन सक्ने भएकाले विभागले नियमित मौसम पूर्वानुमान र पूर्वसूचना हेर्न तथा जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पछिल्लो विवरणअनुसार न्यूनचापीय प्रणाली कमजोर बन्ने सम्भावना रहे पनि त्यसको प्रभावबाट केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको जोखिम भने कायम छ।

प्रतिक्रिया