डोल्पाको जुफालमा सीता एयरको जहाज दुर्घटना : १३ यात्रु सकुशल

डोल्पाको जुफालमा सीता एयरको जहाज दुर्घटना : १३ यात्रु सकुशल


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ८ असोज २०८३
  • 342
    Shares

पोखरा, ८ असोज २०८३ ।

डोल्पाको जुफाल विमानस्थलमा बिहीबार बिहान सीता एयरको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको छ। नेपालगन्जबाट १३ जना यात्रु बोकेर आएको जहाज अवतरणका क्रममा पछाडिपट्टिको दायाँ चक्का खुस्किएपछि रनवेमै रोकिएको छ।

नेपालगन्जबाट उडेको सीता एयरको ९एन-एजेएच / ९एन-एजे कलसाइन भएको जहाज बिहान ८:२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार अवतरणका क्रममा पछाडितर्फको दायाँ टायर फुत्किएर बाहिर निस्किएपछि जहाज केही पर उछिट्टिएको थियो। पाइलटले तत्काल इन्जिन बन्द गरेपछि सम्भावित आगलागीबाट जहाज जोगिएको हो।

यात्रु सबै सकुशल

जहाजमा १३ जना यात्रु सवार थिए, जसमध्ये सात जना विदेशी र ६ जना नेपाली नागरिक छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिल राज गिरीका अनुसार यात्रुमध्ये ११ जना पुरुष र दुई जना महिला रहेका छन् र सबै सकुशल छन्। विमानस्थल सुरक्षा पोस्टले पनि कुनै मानवीय क्षति नभएको पुष्टि गरेको छ।

जुफाल विमानस्थल प्रमुख मुकुन्द पौडेलले अवतरणका क्रममा पछाडिको पाङ्ग्रा खुस्किएको बताएका छन्। प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जहाजमा सामान्य प्राविधिक समस्या देखिएको र अवस्था सामान्य रहेको बताइन् ।

रनवे अवरुद्ध, उडान प्रभावित

दुर्घटनापछि जहाज अहिले पनि जुफाल विमानस्थलको धावनमार्गमै रहेको छ। जहाज रनवेमै रोकिएपछि अन्य उडान अवरुद्ध भएका छन्। अवतरणका लागि आएको नेपाली सेनाको जहाज समेत अवतरण गर्न नसकी फर्किएको छ।

जहाजको प्राविधिक जाँच तथा मर्मतका लागि हेलिकप्टरमार्फत इन्जिनियर ल्याउने तयारी भइरहेको विमानस्थल प्रमुख पौडेलले जानकारी दिनुभएको छ।

प्रतिक्रिया