संयुक्त राष्ट्रसंघको मन्चबाटै इरानी राष्ट्रपति पेजेस्कियानले गरे ट्रम्पको प्रतिवाद

संयुक्त राष्ट्रसंघको मन्चबाटै इरानी राष्ट्रपति पेजेस्कियानले गरे ट्रम्पको प्रतिवाद


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ८ असोज २०८३
  • 532
    Shares

पोखरा, ८ असोज २०८३ ।

 इरानका राष्ट्रपति मसुद पेजेस्कियानले संयुक्त राष्ट्रसंघको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘इरानलाई ध्वस्त पार्ने’ चेतावनीको कडा प्रतिवाद गरेका छन्। साथै उनले युद्ध अन्त्यका लागि कूटनीतिक वार्ताको ढोका खुला रहेको बताएका छन्।

बुधबार महासभालाई सम्बोधन गर्दै पेजेस्कियानले भने, ‘अमेरिकी राष्ट्रपतिले हामीलाई आतंकवादी भने, तर हामी आफैं आतंकवादका पीडित हौं।’

अमेरिकी दबाब, प्रतिबन्ध र धम्कीले इरानी जनताको प्रतिरोध झनै बलियो हुने उनको दाबी थियो। ‘उनीहरूले हामीमाथि हमला गरे, तर हामीले टाउको झुकाएनौं र घुँडा टेकेनौं,’ उनले भने।

तस्वीर प्रदर्शन गर्दै आक्रोश
भाषणका क्रममा पेजेस्कियानले अमेरिकी-इजरायली संयुक्त हमलामा मारिएको दाबी गरिएका पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको तस्वीर देखाएका थिए। साथै दक्षिणी सहर मिनाबस्थित एक विद्यालयमा अमेरिकी हवाई हमलामा मारिएको भनिएका छात्राहरूका तस्वीर पनि प्रदर्शन गरे।

उनले गाजामा इजरायली हमला र इरानमाथिको कारबाहीलाई तुलना गर्दै अन्तर्राष्ट्रिय समुदायले इरानमाथि दोहोरो मापदण्ड अपनाएको आरोप लगाए।

वार्ताको सम्भावना कायमै
कडा अभिव्यक्ति दिए पनि पेजेस्कियानले कूटनीतिक समाधानको सम्भावना अस्वीकार गरेनन्। क्षेत्रको कुनै पनि देशले एक्लै सुरक्षा हासिल गर्न नसक्ने भन्दै उनले सहकार्यका लागि विश्व समुदायलाई आह्वान गरे।

‘इरान विश्वतर्फ आफ्ना हात फैलाउँछ, यो कमजोरीले होइन, आफ्नै शक्ति र दृढतामाथिको विश्वासले हो,’ उनले भने।

पृष्ठभूमि
यसअघि मंगलबार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग सम्झौता हुने वा ‘इस्लामिक गणतन्त्रलाई ध्वस्त पार्ने’ दुई विकल्प रहेको बताएका थिए।

तर सोही दिन अमेरिकी विशेष दूत स्टिभ विट्कफ र ट्रम्पका ज्वाइँ जारेड कुशनरले इरानी अधिकारीहरूसँग करिब तीन घण्टा वार्ता गरेका थिए। ट्रम्पले उक्त भेटलाई ‘धेरै राम्रो र फलदायी’ भनेका थिए।

होर्मुज जलघाँटीमा अडान
पेजेस्कियानले रणनीतिक होर्मुज जलघाँटीबारे इरानको पुरानै अडान दोहोर्याए। अमेरिकी नौसैनिक नाकाबन्दी र सैन्य दबाब कायम राखेर इरानलाई जलमार्ग खोल्न दबाब दिन नहुने उनको भनाइ थियो।

इरानले होर्मुज खोल्ने विषयलाई अमेरिकी सैन्य दबाब कम गर्ने, बन्दरगाहमाथिको नाकाबन्दी हटाउने र रोक्का सम्पत्ति फुकुवा गर्ने विषयसँग जोड्दै आएको छ।

पेजेस्कियानको भाषण सुरु हुँदा अमेरिकी प्रतिनिधिमण्डलका एक अधिकारी सभाकक्षबाट बाहिरिएका थिए भने इजरायली प्रतिनिधिमण्डलले भाषण बहिष्कार गरेको थियो। इरानी अधिकारीहरूका अनुसार वार्ताको वातावरण बने पनि युद्ध अन्त्य गर्ने मुख्य विषयमा वासिङ्टन र तेहरानबीच अझै गम्भीर मतभेद कायमै छ। एजेन्सीको सहयोगमा

प्रतिक्रिया