पोखरा, ४ असोज २०८३ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीमा शनिबार साँझ भएको गोलीकाण्ड प्रकरणमा सम्लाहं रहेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिका–२ का गणेश यादव र जयकृष्ण यादव रहेका छन्। स्थानीयले उनीहरूलाई नियन्त्रणमा लिएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। यसअघि विष्णु यादव भनिएकामा गणेश यादव पक्राउ परेको खुलेको हो।
प्रहरीका अनुसार शनिबार साँझ मध्यहर्षाहीमा गोली चल्दा श्रम संस्कृति पार्टीसँग आबद्ध युवा नेता निरज यादव घाइते भएका छन्। उनको तिघ्रामा गोली लागेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। गम्भीर घाइते भएका यादवलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
घटनापछि आक्रोशित स्थानीयले घटनास्थलमा रहेका दुई वटा मोटरसाइकलमा आगजनी गरेका छन्। घटनामा संलग्न अन्य व्यक्तिहरू भने फरार रहेको प्रारम्भिक जानकारी छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गोली प्रहार गर्ने समूहको पहिचान र घटनाको कारण अझै यकिन भइसकेको छैन। वडाध्यक्ष सूर्यनारायण पालले अज्ञात समूहले चलाएको गोली लागेर यादव घाइते भएको जानकारी दिएका थिए।
घटनापछि सम्भावित तनावलाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको छ। क्षेत्रमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रहरीले घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी तथा पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।