काठमाडौं, ३ असोज २०८३ ।
भोटेकोशीमा आएको बाढीपछि अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र बेपत्ता भएका मजदुरको खोजीका क्रममा थप १८ जनाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार खोज तथा उद्धार टोलीले आज सुरुङभित्रबाट १८ जनाको शव निकालेको हो।
यसअघि बिहीबार पनि सोही क्षेत्रमा ६ जना मजदुरको शव फेला परेको थियो। त्यसपछि नेपाली सेना, प्रहरी तथा आयोजनाका कर्मचारीले खोजीलाई निरन्तरता दिँदा थप शव भेटिएका हुन्।
आयोजनाको ९.८ किलोमिटर लामो सुरुङमध्ये मैलुङबाट करिब साढे पाँच किलोमिटर उत्तरतर्फ दल्दुङ खोलास्थित अडिट–३ को करिब १०० मिटरभित्र शव फेला परेको आयोजनाका सामाजिक विज्ञ हर्क तामाङले जानकारी दिए।
उनका अनुसार खोज तथा उद्धार कार्यमा नेपाली सेना र जलविद्युत् आयोजनाका कर्मचारी परिचालित छन्।
बाढीका समयमा आयोजनाको सुरुङभित्र कामका लागि कति जना मजदुर प्रवेश गरेका थिए भन्ने यकिन विवरण अझै खुल्न सकेको प्रहरीले जनाएको छ। फेला परेका शवको पहिचान तथा सनाखत गर्ने काम पनि बाँकी रहेको प्रहरीको भनाइ छ।
बाढीका कारण आयोजनाका निर्माणाधीन संरचनामा क्षति पुगेपछि सुरुङभित्र फसेका तथा बेपत्ता मजदुरको खोजी तथा उद्धार थालिएको थियो। खोजीका क्रममा लगातार शव फेला पर्न थालेपछि आफन्त तथा आयोजनासँग सम्बन्धित पक्षमा शोक छाएको छ।
प्रहरीका अनुसार निर्माण कम्पनीले सुरुङभित्र काम गर्न पठाएका मजदुरको नाम, संख्या र विवरण व्यवस्थित रूपमा नराखेका कारण फेला परेका शवको पहिचान गर्न कठिनाइ भइरहेको छ।
२१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजना रसुवामा निर्माणाधीन ठूलो जलविद्युत् आयोजना हो। सुरुङभित्र अझै बेपत्ता रहेका मजदुरको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।