तीनसय ३४ जनाका लागि नेपाल प्रहरीमा जागीर खाने मौका : असईदेखि कार्यालय सहयोगीसहितका विभिन्न पदमा आवेदन माग

तीनसय ३४ जनाका लागि नेपाल प्रहरीमा जागीर खाने मौका : असईदेखि कार्यालय सहयोगीसहितका विभिन्न पदमा आवेदन माग


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २ असोज २०८३
  • 551
    Shares

काठमाडौँ, २ असोज २०८३।

नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय सहयोगी पदमा ३३४ जनाका लागि नयाँ भर्ना खुलाएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागअन्तर्गत भर्ना छनोट शाखाले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्तिका लागि आवेदन माग गरेको हो।

प्रहरीका अनुसार असई जनपदतर्फ २११ जना र प्रहरी कार्यालय सहयोगीतर्फ विभिन्न समूहमा १२३ जना गरी कुल ३३४ पदमा दरखास्त आह्वान गरिएको छ।

असईतर्फ खुला, अमर/अशक्त प्रहरी परिवार, महिला, आदिवासी जनजाति, मधेसी, दलित र पिछडिएको क्षेत्रका लागि छुट्टाछुट्टै कोटा निर्धारण गरिएको छ। कार्यालय सहयोगीतर्फ भान्छे ८३, हजाम १५ र कुचीकार २५ जनाका लागि पद खुलाइएको छ।

दरखास्त २०८३ असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म दिन सकिनेछ। असई पदका लागि नेपाल प्रहरीको अनलाइन आवेदन प्रणाली (ORMS) मार्फत आवेदन दिनुपर्नेछ भने कार्यालय सहयोगी पदका लागि तोकिएका प्रहरी कार्यालय तथा तालिम केन्द्रमा स्वयं उपस्थित भएर फाराम बुझाउनुपर्नेछ।

असईका लागि रु. ५०० र कार्यालय सहयोगीका लागि रु. २०० दरखास्त दस्तुर तोकिएको छ। थप समावेशी समूहमा आवेदन दिँदा तोकिएअनुसार अतिरिक्त दस्तुर लाग्नेछ।

असई पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह (+२ वा सोसरह) उत्तीर्ण गरेको हुनुपर्नेछ। कार्यालय सहयोगीका लागि साधारण लेखपढ गर्न जान्ने योग्यता तोकिएको छ। दुवै पदका लागि उमेर, शारीरिक तथा स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गर्नुपर्नेछ।

छनोट प्रक्रियामा प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा, विस्तृत स्वास्थ्य परीक्षण, लिखित परीक्षा, आवश्यकताअनुसार प्रयोगात्मक परीक्षा, विशेष स्वास्थ्य परीक्षण र अन्तर्वार्ता समावेश छन्।

लिखित परीक्षामा वस्तुगत बहुउत्तरात्मक प्रश्नको गलत उत्तर दिएमा २० प्रतिशत अंक कट्टा हुने व्यवस्था गरिएको छ।

प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षाको तालिका सम्बन्धी सूचना २०८३ कात्तिक २० गते नेपाल प्रहरीको वेबसाइट तथा सम्बन्धित कार्यालयमार्फत प्रकाशन गरिने नेपाल प्रहरीले जनाएको छ।

हेर्नुस सुचना

प्रतिक्रिया