काठमाडौँ, १ असोज २०८३।
भारतीय समकक्षीसंग आज भएको भेटमा नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेतार्फ़ नेपालको झण्डा नराखिएकोमा सामाजिक संजालमा ब्यापक आलोचना भएको छ।
भारतीय वित्त मन्त्री निर्मला सीतारमणसंग बिहीवार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा भएको भेटमा नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेतार्फ़ नेपालको झण्डा नराखिएकोमा सामाजिक संजालमा ब्यापक आलोचना भएको हो ।
उक्त फोटो अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालय स्वयमले आफ्नो सामाजिक संजालमार्फत सार्वजनिक गरेको पनि छ। नेपाल सरकारका मन्त्री भएर पनि निजि भ्रमणमा जस्तो आफु तर्फ आफ्नो देशको झण्डा नराखिएकोमा सामाजिक संजालमा अर्थमन्त्री वाग्लेको कडा आलोचना भैरहेको छ। भेटमा नेपाल र भारतका सम्बन्धित सरकारी प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता थियो।
भारतीय सरकारको निमन्त्रणामा भएको भ्रमणको मुख्य उद्देश्य नेपाल–भारत आर्थिक, राजनीतिक तथा कूटनीतिक सहकार्यलाई थप अघि बढाउनुका साथै हालैको प्राकृतिक विपद्पछिको पुनर्निर्माणमा सहकार्यबारे छलफल गर्नु रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
गत भदौ १० (अगस्ट २६) मा नेपालमा आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि वाग्लेको भारत भ्रमण भएको हो। उक्त विपद्पछि पुनर्निर्माणका लागि नेपालले अन्तर्राष्ट्रिय सहयोग जुटाउने प्रयास गरिरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार विपद्ले जलविद्युत् आयोजना, सडक, पुल तथा बस्तीमा समेत ठूलो क्षति पुर्याएको छ र पुनर्निर्माणका लागि अर्बौं डलर आवश्यक पर्ने आकलन गरिएको छ।
वाग्लेले भ्रमणका क्रममा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। शुक्रबार साँझ ५ बजे हुने तय भएको उक्त भेटवार्तामा दुई देशबीचका समसामयिक आर्थिक तथा कूटनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ। वाग्लेले शुक्रबार बिहान पूर्वभारतीय विदेश सचिव श्याम सरनले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा प्रमुख अतिथिका रूपमा सहभागिता जनाउनेछन्।
त्यसैगरी, शुक्रबार साँझ भारत व्यापार प्रवर्द्धन संगठनका अध्यक्ष जावेद अशरफले आयोजना गर्ने अन्तरक्रिया कार्यक्रममा पनि वाग्ले सहभागी हुनेछन्। शनिबार बिहान भारतीय उद्योग परिसंघ (CII) ले आयोजना गर्ने भारतीय उद्योगी तथा व्यवसायीहरूको सम्मेलनमा उनले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थशास्त्रसम्बन्धी शैक्षिक छलफलमा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्रराज भण्डारी, नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख डा. सुरेन्द्र थापा, आर्थिक मन्त्री तारानाथ अधिकारी तथा अर्थमन्त्रीका निजी सचिव कञ्चन बस्नेतलगायत छन्। वाग्ले शनिबार अपराह्न नेपाल फर्किने कार्यक्रम छ।