तीनदिने भारत भ्रमणमा निस्किए, अर्थमन्त्री वाग्ले : यस्तो छ भ्रमण तालिका

तीनदिने भारत भ्रमणमा निस्किए, अर्थमन्त्री वाग्ले : यस्तो छ भ्रमण तालिका


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ असोज २०८३
  • 931
    Shares

काठमाडौँ, १ असोज २०८३।

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार नयाँदिल्ली प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहान ७ः३५ बजेको उडानमार्फत काठमाडौंबाट नयाँदिल्ली गएका हुन्।

भ्रमणका क्रममा नेपाल–भारतबीचको आर्थिक, राजनीतिक तथा कूटनीतिक सम्बन्धका विभिन्न पक्षमा छलफल हुने बताइएको छ। विशेषगरी विपद्पछिको पुनर्निर्माण तथा दुई देशबीच आर्थिक सहकार्यका विषयलाई प्राथमिकताका साथ उठाइने जनाइएको छ।

अर्थमन्त्री वाग्लेको भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी तथा नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा नेपाली सहभागी छन्।

यस्तो छ भ्रमण तालिका

बिहीबार
अर्थमन्त्री वाग्लेले साँझ ५ बजे भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

शुक्रबार
बिहान ९ बजे पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।

त्यसै दिन साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। साँझ ७ः३० बजे भारत व्यापार संवद्र्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा पनि अर्थमन्त्री वाग्ले सहभागी हुनेछन्।

शनिबार
बिहान ९ः३० बजे भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाका प्रतिनिधिहरूसँगको सम्मेलनमा वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।

त्यसपछि बिहान ११ः३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ।

भ्रमणका सबै कार्यक्रम सम्पन्न गरेपछि अर्थमन्त्री वाग्ले शनिबार दिउँसो ४ बजे काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया