सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर १५ मिटरको बन्यो बाँध, तटीय क्षेत्रमा उच्च सतर्कता

सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर १५ मिटरको बन्यो बाँध, तटीय क्षेत्रमा उच्च सतर्कता


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ भाद्र २०८३
  • 1.9K
    Shares

सोलुखुम्बु — सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–गुदेलस्थित हुङ्गा (हुङ्कु) खोलामा पहिरो खसेर करिब १५ मिटर अग्लो प्राकृतिक बाँध बनेको छ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट प्राप्त सूचनाअनुसार खोलाको माथिल्लो क्षेत्रमा थप पहिरो खस्ने क्रम जारी रहेकाले जोखिम बढेको छ।

पहिरोका कारण बनेको बाँधमा पानी जम्मा हुँदै गएमा अचानक निकास भई बाढी आउन सक्ने सम्भावना रहेकाले हुङ्गा खोला र दूधकोशी नदीको तटीय तथा आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने प्रशासनले जनाएको छ।

यसैबीच, बाढी पूर्वानुमान महाशाखाले अर्को सूचना जारी नभएसम्म हुङ्गा खोला तथा दूधकोशी नदीको तटीय र आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले खोला तथा नदीको बहावमा अचानक परिवर्तन आउन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

स्थानीय प्रशासन तथा सम्बन्धित निकायले घटनाको अवस्थाबारे निगरानी गरिरहेको जनाइएको छ।

प्रतिक्रिया