काठमाडौँ, २६ भदौ २०८३।
पूर्वी चीनको क्विङदाओस्थित एक सिपयार्डमा मर्मतका लागि राखिएको विदेशी झण्डाधारी कार्गो जहाजमा आगलागी हुँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ।
चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीका अनुसार जहाजमा कुल ४२ जना सवार थिए। तीमध्ये १७ जनालाई उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये पाँच जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको र उनीहरूको अवस्था स्थिर रहेको जनाइएको छ।
स्थानीय समयअनुसार बिहीबार बिहान ११ः१५ बजे जहाजमा आगलागी सुरु भएको थियो। आगो नियन्त्रणमा लिन उद्धारकर्मीलाई तीन घण्टाभन्दा बढी समय लागेको सीसीटीभीले जनाएको छ।
घटनाका एक प्रत्यक्षदर्शीले एएफपीलाई बताएअनुसार आगलागीपछि जहाजबाट बाक्लो धुवाँको मुस्लो निस्किएको थियो।
राज्य सञ्चालित सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरमा जहाजको नाम ‘ओसन मेलोडी’ देखिएको छ। जहाज लाइबेरियाको झण्डा बोकेको १९० मिटर लामो कार्गो जहाज रहेको मरिन ट्राफिकको विवरणमा उल्लेख छ।
मरिन ट्राफिकका अनुसार उक्त जहाज अगस्ट ३१ मा क्विङदाओ पुगेको थियो। आगलागीको कारणबारे भने तत्काल विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।