मोरङ कारागारमा प्रहरीले मार्यो छापा : दुई थान मोबाइल, १० लाख रुपैयाँ नगद र आठ वटा फलामे रड बरामद

मोरङ कारागारमा प्रहरीले मार्यो छापा : दुई थान मोबाइल, १० लाख रुपैयाँ नगद र आठ वटा फलामे रड बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २५ भाद्र २०८३
  • 855
    Shares

तनावग्रस्त मोरङ जिल्ला कारागार

पोखरा, २५ भदौ २०८३।

कैदीबन्दीलाई व्यक्तिगत मोबाइल फोन बोक्न तथा प्रयोग गर्न प्रतिबन्ध रहेको मोरङ जिल्ला कारागारभित्रबाट प्रहरीले दुई थान मोबाइल, १० लाख रुपियाँ र आठ वटा रडहरु बरामद गरेको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार बिहान करिब ११ बजे मोरङ कारागारमा गरेको सर्चका क्रममा जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका मनिष विक (विश्वकर्मा) बस्ने ‘बी’ ब्लक कोठा नम्बर १ बाट दुई थान मोबाइल बरामद गरेको हो।

प्रारम्भिक छानबिनका क्रममा विकले ती मोबाइल लामो समयदेखि प्रयोग गर्दै आएको खुलेको प्रहरी स्रोतले जनाएको छ। दुवै मोबाइलमा सिमकार्ड प्रयोग गरी उनले कारागारबाहिर सम्पर्क गर्ने गरेकोसमेत प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ।

कारागार प्रशासनले कैदीबन्दीलाई आफन्तसँग सम्पर्क गर्न ल्यान्डलाइनको व्यवस्था गरेको छ। व्यक्तिगत मोबाइल प्रयोगमा प्रतिबन्ध हुँदाहुँदै विकको कोठाबाट मोबाइल बरामद भएपछि ती फोन कारागारभित्र कसरी प्रवेश गरे र त्यसमा कसको संलग्नता थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ।

विक अभिषेक गिरीका सवारीसाधन चालक रहेको बताइएको छ। उनीविरुद्धको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बेला उनकै कोठाबाट मोबाइल बरामद भएपछि प्रहरीले मोबाइलको स्रोत र कारागारभित्र पुर्‍याउन सहयोग गर्ने व्यक्तिको पहिचान गर्न अनुसन्धान अघि बढाएको छ।

मोबाइलसँगै १० लाखभन्दा बढी नगद

‘बी’ ब्लकमा गरिएको सर्चका क्रममा प्रहरीले त्यहाँ सञ्चालित किराना पसलबाट १० लाख ३ हजार १ सय ५५ रुपैयाँ नगदसमेत बरामद गरेको छ। मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालका अनुसार बरामद रकमको स्रोत र प्रयोजनबारे अनुसन्धान भइरहेको छ।

कारागारभित्र निषेधित मोबाइल फेला पर्नु र ठूलो परिमाणमा नगद बरामद हुनुले त्यहाँको आन्तरिक सुरक्षा तथा निगरानी व्यवस्थामाथि थप प्रश्न खडा गरेको छ। प्रहरीले निषेधित सामग्री कारागारभित्र कसरी प्रवेश गर्‍यो तथा त्यसमा कर्मचारी वा अन्य व्यक्तिको संलग्नता थियो कि थिएन भन्ने विषयलाई समेत अनुसन्धानको दायरामा राखेको जनाएको छ।

छेउको कोठाबाट आठ फलामे रड

मोबाइल बरामद भएको कोठा नम्बर १ को छेउमै रहेको कोठा नम्बर २ बाट प्रहरीले आठ वटा फलामे रडसमेत बरामद गरेको छ।

उक्त कोठामा यसअघि तत्कालीन चौकीदार विशाल निरौला र भारतीय नागरिक चञ्चल बर्मा बस्ने गरेका थिए। मानव बेचबिखन तथा अपहरण मुद्दामा १५ वर्ष कैद सजाय काटिरहेका बर्माको कैद अवधि २०८५ सालसम्म रहेको बताइएको छ।

कारागारको ‘बी’ ब्लकमा लामो समयदेखि केही कैदीबन्दीले प्रभाव जमाउँदै आएको र त्यहाँ ‘समानान्तर सत्ता’ सञ्चालन हुने गरेको आरोप लाग्दै आएको थियो। सुरक्षा निकायलाई समेत ब्लकभित्र सहज रूपमा प्रवेश गरी खानतलासी गर्न कठिनाइ हुने गरेको स्रोतको भनाइ छ।

३७ कैदीबन्दी स्थानान्तरणपछि सर्च

बी ब्लकमा रहेको समूहको प्रभाव तोड्न कारागार प्रशासनले यसअघि दुई चरणमा गरी ३७ जना कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरेको थियो। पहिलो चरणमा १९ र दोस्रो चरणमा १८ जना स्थानान्तरण भएका थिए।

स्थानान्तरण हुनेमा तत्कालीन चौकीदार निरौला, भारतीय नागरिक बर्मा र मनिष विकसमेत थिए। उनीहरू कारागारमा रहँदा बी ब्लकभित्र सर्च गर्न कठिनाइ हुँदै आएको प्रहरीको भनाइ छ।

मुख्य प्रभावशाली कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरेपछि मात्रै बिहीबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली बी ब्लकभित्र प्रवेश गरी विस्तृत सर्च गर्न सफल भएको हो।

‘च्यानल गेट’सम्म प्रभाव

कारागार स्रोतका अनुसार बी ब्लकमा प्रभाव जमाएका कैदीबन्दीको पहुँच ‘च्यानल गेट’ खोल्ने र बन्द गर्ने विषयसम्म रहने गरेको थियो। यसले ब्लकको आन्तरिक सुरक्षा व्यवस्थामा उनीहरूको प्रभाव कति थियो भन्ने प्रश्नसमेत उठाएको छ।

३७ जना कैदीबन्दी स्थानान्तरण गरेपछि भने बी ब्लकको अवस्था सामान्य बनेको कारागारका जेलर राजन घिमिरेले बताए।

हाल बी ब्लकमा ५२९ जना कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ। मोरङ कारागारमा पुरुष कैदीबन्दीका लागि ए र बी ब्लक तथा महिला कैदीबन्दीका लागि छुट्टै ब्लक रहेको छ।

मोबाइल, १० लाख ३ हजार १ सय ५५ रुपैयाँ नगद र आठ वटा फलामे रड बरामद भएपछि प्रहरीले यी सामग्रीको स्रोत, प्रयोजन र कारागारभित्रको सुरक्षा संयन्त्रसँगको सम्भावित सम्बन्धबारे अनुसन्धानलाई अघि बढाएको छ।

प्रतिक्रिया