पोखरा, २५ भदौ २०८३।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले बिहीबार दिउँसो प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी हुन्।
राजीनामा दिएलगत्तै मन्त्रालयबाट बाहिरिँदा भावुक देखिएकी उनी आँखाभरी आँशु पार्दै बाहिरिएकी थिइन्। सञ्चारकर्मीले प्रश्न गरे पनि उनले कुनै प्रतिक्रिया नदिई मन्त्रालय छाडेकी थिइन्।
यादवको राजीनामालाई उनको विवादास्पद अभिव्यक्तिसँग जोडेर हेरिएको छ। बुधबार प्रतिनिधिसभाको उद्योग समितिको बैठकमा उनले खाना पकाउने ग्यासको अभाव अन्त्य गर्न ‘उद्योगीहरूलाई पाता नफर्काएसम्म’ समस्या समाधान नहुने आशयको अभिव्यक्ति दिएकी थिइन्।
मन्त्रीको उक्त अभिव्यक्तिपछि निजी क्षेत्र आन्दोलित बनेको थियो। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल ग्यास उद्योग संघलगायतका संस्थाले मन्त्री यादवले आफ्नो आरोप पुष्टि गर्नुपर्ने वा सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका थिए।
विवाद चर्किएपछि बिहीबार उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएकी हुन्। यादवको निजी सचिवालयले भने उनको राजीनामा ‘व्यक्तिगत कारण’ ले भएको जनाएको छ।
‘मन्त्री यादवज्यूले व्यक्तिगत कारणले राजीनामा बुझाउनुभएको हो। उहाँले आफ्नो कार्यकालमा मन्त्रालयको जिम्मेवारी निर्वाह गर्ने क्रममा प्राप्त सहयोग, सहकार्य र सद्भावका लागि सम्बन्धित सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ,’ निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यादव गत चैतमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएकी थिइन्। करिब ६ महिनामै उनले पदबाट राजीनामा दिनुपरेको हो।
यसअघि तत्कालीन श्रममन्त्री दीपक साह विवादमा परेपछि राजीनामा दिएर रिक्त भएको जिम्मेवारीमा मन्त्रालय साटफेर गर्दै यादवलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको थियो। अन्ततः साहको राजीनामापछि मन्त्री बनेकी यादवले पनि विवादकै बीच राजीनामा दिनुपरेको छ।