पोखरा, २५ भदौ २०८३।
रसुवाको आमाछोदिङमो गाउँपालिकामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त स्याफ्रुबेशीदेखि चिलिमे हाइड्रोपावरसम्मको भोटेकोसी नदीवारिको सडक मार्ग खुलाउने काम तीव्र पारिएको छ।
भोटेकोसी नदीमा आएको बाढीले क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि गाउँपालिका, चिलिमे हाइड्रोपावर र सान्जेन हाइड्रोपावरको सहकार्यमा दुईवटा मेशिन परिचालन गरिएको छ। चिलिमे हाइड्रोपावरले इन्धन तथा सान्जेन हाइड्रोपावरले जेसीबी उपलब्ध गराएको छ।
हाल बेलिब्रिज निर्माणका लागि आवश्यक जग तयार गर्ने काम भइरहेको छ। त्यसअघि तत्काल आवतजावत र राहत सामग्री ढुवानी सहज बनाउन तुईन निर्माण गर्ने निर्णय गरिएको छ।
तुईन दुई–तीन दिनभित्र निर्माण भए हेलिकप्टरमार्फत राहत ढुवानी गर्नुपर्ने अवस्था अन्त्य भई खाद्यान्न, इन्धनलगायत अत्यावश्यक सामग्री सडकमार्गबाटै ढुवानी गर्न सहज हुने अपेक्षा गरिएको छ।
यस अघि गएको भदौ १० गते आएको बाढीबाट क्षतिग्रस्त सडकको अवस्था बुझ्न गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीको संयुक्त टोलीले भदौ १८ गते स्याफ्रुबेशी पुगेर स्थानीयसँग छलफल गरेको थियो।
वडा नम्बर ५ का अध्यक्ष दावा गोम्बो तामाङको निरन्तर सक्रियता तथा गाउँपालिकाका कर्मचारी र दुवै हाइड्रोपावरको सहयोगमा सडक निर्माणमा उल्लेख्य प्रगति भएको जनाइएको छ।
हालको मुख्य उद्देश्य बेलिब्रिज निर्माणका लागि आवश्यक जग तयार गर्नु रहेको छ। अर्को व्यवस्था नभएसम्म तत्कालका लागि तुईन निर्माण गर्ने निर्णय स्थानीय विपद् व्यवस्थापन समितिले गरेको छ भने जिल्ला विपद् व्यवस्थापन समितिले पनि तुईनलाई पहिलो प्राथमिकतामा राखेको छ।
अबको दुईदेखि तीन दिनभित्र तुईन निर्माण हुनसके हेलिकप्टरबाट राहत ढुवानी गर्नुपर्ने अवस्था अन्त्य भई खाद्यान्न, इन्धन तथा अन्य अत्यावश्यक सामग्री सडकमार्गबाटै कम खर्चमा ढुवानी गर्न सहज हुने अपेक्षा गरिएको छ।