पोखरा , २४ भदौ २०८३।
कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा पहिरो खसेर थुनिएको किम्रुङ खोलाको बहाव खुलेको छ। बिहान खोला साविककै अवस्थामा बगिरहेको जानकारी स्थानीय बासिन्दाहरुले दिएका छन्।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार मध्यराति करिब १२ बजेदेखि पहिरोले थुनिएको भागको एक छेउबाट पानी विस्तारै बग्न थालेको थियो। त्यसपछि क्रमशः बहाव सामान्य अवस्थामा फर्किएको उनले बताए।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गल बरालका अनुसार, पहिरोका कारण गएराती आठ बजेदेखि खोला थुनिएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मी परिचालन गरिएको थियो। पहिरो खसेर खोला थुनिएको स्थानतर्फ प्रहरीको टोली बिहान ४ बजे नै प्रस्थान गरेको उनले जानकारी दिए। खोलाको बहाव साविककै अवस्थामा फर्किएपछि तत्कालका लागि जोखिम टरेको स्थानीय प्रशासनले जनाएको छ।
राति अचानक पहिरो खसेर किम्रुङ खोला थुनिएपछि किम्रुङ खोला तथा मोदीखोला तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको थियो।