काठमाडौं , २४ भदौ २०८३।
काठमाडौंको माइतीघर मण्डलामा मंगलबार साँझ आफैंलाई आगो लगाएर घाइते भएकी एक युवतीको वीर अस्पतालमा उपचार भइरहेको छ। गोरखा घर भई काठमाडौं बस्दै आएकी ३० वर्षीया लक्ष्मीदेवी बस्नेतले साँझ करिब साढे ६ बजेतिर आफ्नो शरीरमा प्रज्वलनशील पदार्थ खन्याएर आगो लगाएकी हुन्।
माइतीघर मण्डलामा जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम चलिरहेका बेला घटना भएको हो। प्रत्यक्षदर्शीका अनुसार युवतीले शरीरमा आगो लगाएपछि तत्कालै त्यहाँ रहेका प्रहरी तथा अन्य व्यक्तिहरूले आगो निभाएर उद्धार गरेका थिए।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार आगो लगाएको देखेपछि प्रहरी टोलीले तत्काल नियन्त्रणमा लिएर उनलाई उपचारका लागि अस्पताल पुर्याएको थियो। पछिल्ला विवरणअनुसार उनको वीर अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि प्रहरीले युवतीलाई तत्काल उद्धार गरेको थियो। उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन।
कारण खुल्न सकेन
माइतीघरमा उपस्थित केही प्रत्यक्षदर्शीका अनुसार बस्नेत केही समयअघि त्यहाँको टेन्टमा आएर बसेकी थिइन्। प्रहरीले उनलाई त्यहाँ नबस्न भनेपछि आफूहरूले समेत सम्झाएको उनीहरूको भनाइ छ। त्यसपछि उनी केही समय त्यहीँ बसेकी थिइन्। पछि मौनधारणका लागि सहभागीहरू सडकपारि गएको समयमा उनले शरीरमा आगो लगाएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
यद्यपि, उनी कुनै विशेष माग वा अभियानसँग जोडिएर आत्मदाहको प्रयासमा पुगेकी हुन् वा व्यक्तिगत कारणले यस्तो कदम उठाएकी हुन् भन्नेबारे प्रहरीले औपचारिक निष्कर्ष सार्वजनिक गरेको छैन।