कास्कीको सुपर सेती जलविद्युत् आयोजनामा पहिरो खस्दा दुई कामदारको निधन

कास्कीको सुपर सेती जलविद्युत् आयोजनामा पहिरो खस्दा दुई कामदारको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २० भाद्र २०८३
  • 950
    Shares

पोखरा, २०  भदौ २०८३ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलमा निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माणका क्रममा पहिरो खस्दा गम्भीर घाइते भएका दुई जना कामदारको निधन भएको छ।

पहिरोमा परेर गम्भीर घाइते भएका दुई जना कामदारहरु धनकुटाको पाख्रीबास नगरपालिका–८ का २६ वर्षीय आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका–१ का २७ वर्षीय किसान राईको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको हो।

सोही पहिरोमा परेर इलाम घर भएका ३२ वर्षीय भक्तबहादुर मगर पनि घाइते भएका र उनको मणिपाल शिक्षण अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। मगरको घुँडामा चोट लागेको छ।

प्रहरीका अनुसार , आज बिहान करिब ११ बजे आयोजनाको पहुँचमार्ग निर्माणका लागि सडक खन्ने काम भइरहेको समयमा माथिबाट अचानक पहिरो खसेको थियो। पहिरोमा परेका कामदारलाई घटनालगत्तै स्थानीयवासी र प्रहरीले उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्‍याएका थिए।

सुपर सेती जलविद्युत् आयोजना कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २४ मेगावाट क्षमताको जलविद्युत् आयोजना हो। घटनाबारे थप विवरण तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया