काठमाडौं, १९ भदौ २०८३ ।
रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामा सञ्जय साह र कबिर महर्जन रहेका छन्।
आयोजना प्रमुख आवास ओझाका अनुसार कविर महर्जन त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाका सुपरभाइजर हुन् । यस्तै, उद्धार गरिएका सञ्जय साह नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी हुन् ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि करिब १० दिनदेखि सुरुङभित्र फसेका उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, आयोजनाका प्राविधिक तथा चिनियाँ सुरुङ उद्धार टोली परिचालन गरिएको थियो।
शुक्रबार बिहान उद्धार टोलीले सुरुङभित्रबाट मानिसको आवाज सुनेपछि उद्धार अभियानलाई थप तीव्र बनाएको थियो। उद्धारकर्ताले सुरुङभित्र रहेकालाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्न आएका हौँ’ भनेर सम्पर्क गर्दा भित्रबाट जवाफसमेत आएको उद्धारमा संलग्न अधिकारीहरूले बताएका थिए।
उद्धारपछि सञ्जय साहले आफूहरूसहित सुरुङभित्र रहेका सबै जना सुरक्षित रहेको र उद्धारको प्रतीक्षामा रहेको जानकारी उद्धारकर्मीलाई दिएका थिए। त्यसपछि उद्धार टोलीले सुरुङभित्र रहेका अन्य व्यक्तिसम्म पुग्ने प्रयासलाई निरन्तरता दिएको थियो।
यसअघि बाढी र पहिरोका कारण आयोजनाको सुरुङ प्रवेशद्वार ठूलो मात्रामा माटो, ढुंगा र संरचनाका अवशेषले पुरिएको थियो। करिब ४० मिटर लामो र २० मिटर अग्लो भग्नावशेष हटाउन उद्धार टोलीले भारी उपकरण प्रयोग गरेको थियो। प्रवेशद्वार खुलाउन विस्फोटसमेत गरिएको थियो।
बिहीबारसम्म नेपाली सेना र अन्य प्राविधिकसहित ९३ जनाको संयुक्त उद्धार टोली त्रिशूली–३ ‘ए’ आयोजनास्थलमा परिचालित थियो। चिनियाँ सुरुङ उद्धार टोलीसमेत नेपाली टोलीसँग मिलेर उद्धारमा संलग्न थियो।
उद्धारकर्ताहरूले सुरुङभित्रका सुख्खा स्थान र हावाको अवस्थाले मानिसहरू जीवित रहन सक्ने आशा बढाएको बताएका थिए। आयोजनाको भूमिगत संरचनातर्फ पुग्ने सुरुङमा ठूलो मात्रामा माटो, ढुंगा तथा अन्य भग्नावशेष रहेकाले उद्धार कार्य अत्यन्त कठिन र जोखिमपूर्ण बनेको थियो।
यसैबीच, भोटेकोशीमा आएको बाढीबाट रसुवा र आसपासका क्षेत्रमा रहेका विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा संरचनामा ठूलो क्षति पुगेको छ। उद्धार टोलीहरूले अन्य आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिहरूको खोजी पनि जारी राखेका छन्।