पोखरा, १७ भदौ २०८३।
कास्कीको पोखरा महानगरपालिका–२५ सुईखेतमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
बुधबार साँझ करिब ५ः१५ बजे गण्डकी प्रदेश ०१–००२ प ३०७१ नम्बरको स्कुटर सुईखेतमा आफैँ अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटनामा परेको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे घर भई हाल पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनमा बस्दै आएकी ५२ वर्षीया सुजाता सुनारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो।
सोही दुर्घटनामा स्कुटर चालक १८ वर्षीय असिम सुनार घाइते भएका थिए। उनको मुख र दुवै घुँडामा चोट लागेको थियो। मणिपाल शिक्षण अस्पतालमा उपचारपछि उनलाई डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।