पोखरा , १६ भदौ २०८३।
भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये पोखरा ल्याइएका १०२ शवमध्ये १९ वटा शब आफन्तले बुझेर लगेका छन् भने ७६ शवको पहिचान हुन नसकेपछि पोखरा १६ उपल्लोदिपस्थित सिँचाइ बाँधको वन क्षेत्रमा गाडेर व्यवस्थापन गरिएको छ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार पोखरा ल्याइएका १०२ शवमध्ये १९ जनाको पहिचान खुलेपछि आफन्तले बुझेर लगेका छन्। बाँकीमध्ये ६ दिनसम्म पहिचान हुन नसकेका ७६ शव व्यवस्थापन गरिएको हो।
अझै सात शव अस्पतालको शवगृहमा राखिएका छन्। ती शवबारे केही अन्योल रहेकाले आफन्त वा परिवारका सदस्य आएर पहिचान गर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै थप दुई–चार दिन शवगृहमा राखिने बरालले बताए।
रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीका क्रममा नदीले बगाएका शवहरू गोरखा, तनहुँ, धादिङ र नवलपुरबाट संकलन गरी पोखरा ल्याइएको थियो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा मणिपाल शिक्षण अस्पतालमा गरी कुल १०२ शव राखिएको थियो।
प्रहरीका अनुसार नवलपुरबाट ४०, धादिङबाट २७, तनहुँबाट २४ र गोरखाबाट ११ शव संकलन गरी पोखरा ल्याइएको थियो। मणिपाल शिक्षण अस्पतालमा मात्रै ९ शव राखिएका थिए।
सबै शवको पोस्टमार्टम सोमबारसम्म पूरा गरिएको थियो। कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार गाडेर व्यवस्थापन गरिएका प्रत्येक शवमा पहिचान तथा अभिलेखका लागि ट्याग राखिएको छ।
यसरी शव व्यवस्थापन गरिए पनि भविष्यमा आफन्तबाट पहिचान खुलेमा सम्बन्धित विवरणका आधारमा शवको अभिलेख पहिचान गर्न सकिने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।