पोखरा , १४ भदौ २०८३।
भोटेकोशी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको ६० मेगावाट क्षमताको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङको मुख फेला परेको छ। सुरुङभित्र फसेका कर्मचारीको उद्धारका लागि तीन दिनदेखि निरन्तर खटिएको टोलीले ‘केबल एक्सेस टनेल’ पत्ता लगाएको हो।
नेपाल विद्युत् प्राधिकरणका कामु प्रबन्ध निर्देशक दीर्घायुकुमार श्रेष्ठले उद्धार टोलीले सुरुङको प्रवेशमार्ग फेला पारेको जानकारी दिएका छन्।
प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार आयोजनाको ४० मिटर अपस्ट्रिममा रहेको भर्टिकल होलभन्दा करिब आठ मिटर तल सुरुङको मुख भेटिएको हो।
नेपाली सेना, नेपाल विद्युत् प्राधिकरण तथा सुरुङ विज्ञहरूको संयुक्त टोलीले विद्युत् गृहबाट तार बाहिर निकाल्न प्रयोग हुने सुरुङ पत्ता लगाएको हो। सुरुङको मुख भेटिएसँगै अब उद्धार विज्ञलाई त्यसबाट भित्र पठाएर सुरुङभित्रको अवस्थाबारे जानकारी लिने तयारी गरिएको छ।
त्रिशूली–३ ‘ए’ आयोजनामा बाढीपछि सम्पर्कविहीन भएका कर्मचारीको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल विद्युत् प्राधिकरण र सुरुङ विज्ञसहितको टोलीले निरन्तर प्रयास गरिरहेको छ।