पोखरा , ३१ साउन २०८३।
चितवन, ३१ साउन २०८३।
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा ठूलो सुख्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। पहिरोका कारण नारायणगढ–काठमाडौँ सडकखण्डमा शनिबार रातिदेखि नै दुवैतर्फी यातायात ठप्प छ।
प्रहरीका अनुसार शनिबार राति करिब १०ः२५ बजे राजमार्गमाथिबाट रूखसहितको ठूलो पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको हो। पहिरोका कारण नारायणगढबाट काठमाडौँतर्फ जाने र काठमाडौँबाट नारायणगढतर्फ आउने सबै प्रकारका सवारीसाधन रोकिएका छन्।
पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन कम्तीमा ६ देखि ७ घण्टा लाग्ने अनुमान गरिएको प्रहरीले जनाएको छ। सडक खुलाउन सडक विभागसँग समन्वय भइरहेको पनि प्रहरीले जनाएको छ।
पहिरोका कारण राजमार्गमा सवारीसाधनको लामो लाइन लागेको छ भने यात्रुहरू अलपत्र परेका छन्। लामो समयदेखि सडक अवरुद्ध हुँदा यात्रु तथा चालकले सास्ती व्यहोर्नुपरेको छ।
यात्रुको सुरक्षालाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा आवागमन पूर्णरूपमा बन्द गरिएको प्रहरीले जनाएको छ। सडकको अवस्था सामान्य नभएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न तथा अत्यावश्यक बाहेक अनावश्यक यात्रा नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।