सुस्तामा निर्माणाधीन अस्थायी बाँध नारायणीले बगायो, बस्ती र खेतीयोग्य जमिन जोखिममा

सुस्तामा निर्माणाधीन अस्थायी बाँध नारायणीले बगायो, बस्ती र खेतीयोग्य जमिन जोखिममा


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३० साउन २०८३
  • 1.2K
    Shares

पोखरा , ३० साउन २०८३।

पश्चिम नवलपरासीको सुस्तामा स्थानीयवासीले श्रमदान गरेर निर्माण गरिरहेको अस्थायी बाँध नारायणी नदीको बाढीले बगाएको छ। बाँध बगाएसँगै नदी बस्तीमा पस्नुका साथै ठूलो क्षेत्रफलको खेतीयोग्य जमिन कटान गरेको स्थानीयले बताएका छन्।

साउन १७ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सुस्तामा निर्माण गरिएको बाँध भत्काएपछि स्थानीयवासीले प्रतिकार गर्दै श्रमदानमार्फत पुनः बाँध निर्माण सुरु गरेका थिए। करिब २० दिनदेखि स्थानीयवासी बाँध निर्माणमा जुटेका थिए।

तर निरन्तरको वर्षासँगै नारायणी नदीमा आएको बाढीका कारण निर्माणाधीन अस्थायी बाँध नै बगाएको स्थानीय बाबु खानले बताए। उनका अनुसार नदीको पानी थारू बस्तीलगायतका क्षेत्रमा प्रवेश गरेको छ। नदीले अहिलेसम्म करिब २० बिघा जमिन कटान गरिसकेको उनले बताए।

नदीको कटान रोक्न स्थानीयवासीसँगै केही दिन नेपाल सेना र सशस्त्र प्रहरीका सुरक्षाकर्मीसमेत बाँध निर्माणमा खटिएका थिए। तर जालीमा राखिएका माटो तथा बालुवाका बोरा नदीले बगाएपछि अब कसरी कटान रोक्ने भन्नेमा स्थानीय अन्योलमा परेका छन्।

शनिबार पनि नारायणी नदीको कटान रोकिएको छैन। नदीले बाँध भत्काउँदै उखु खेती गरिएको खेततर्फ कटान गरिरहेको स्थानीयले बताएका छन्। कटान यही गतिमा जारी रहे केही दिनमै सुस्ता गाउँ नै जोखिममा पर्न सक्ने स्थानीय बाबु खानको भनाइ छ।

‘हामीले २० दिनदेखि बाँध निर्माणका लागि श्रमदान गरेका थियौँ। तर हामीले बनाएको बाँध पनि नदीले बगायो। नदीले २०औँ बिघा जमिन कटान गरिसकेको छ,’ खानले भने, ‘यही रूपमा कटान भइरहे केही दिनमा सुस्ता गाउँ नै बगाउने जोखिम छ।’

उनका अनुसार करिब ३ देखि ४ सय स्थानीयवासी नदी कटान रोक्न बाँध निर्माणमा खटिएका छन्। तर सरकारबाट आश्वासनबाहेक पर्याप्त सहयोग प्राप्त हुन नसकेको उनले गुनासो गरे।

स्थानीयले सरकारले तत्काल बजेट व्यवस्थापन गरी स्थायी तथा सुरक्षित बाँध निर्माणको काम अघि बढाउनुपर्ने माग गरेका छन्। ‘हामीले श्रमदान गरेर बनाएको बाँधको जाली र बोरा सबै बगिसक्यो। अब हामीले मात्रै सक्दैनौँ। सरकारले तत्काल काम गर्नुपर्छ, नत्र सुस्ता नै जोखिममा पर्छ,’ खानले भने।

यसअघि सुस्ताको बाँधको अवस्थाबारे लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थलगत अनुगमन गर्दै बाँध निर्माणका लागि बजेट अभाव हुन नदिने बताएका थिए। तर अहिले निर्माणाधीन अस्थायी बाँध नै नदीले बगाएपछि स्थानीयवासी तत्काल सरकारी हस्तक्षेपको पर्खाइमा छन्।

प्रतिक्रिया