पोखरा, २९ साउन २०८३।
भारतको झारखण्डमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना हुँदा रौतहटका तीन जनाको मृत्यु भएको छ।
गरुडा नगरपालिका–६ पोठियाहीबाट बोलबम यात्राका लागि बाबाधाम गएका तीर्थयात्री चढेको ना ६ ख १५५४ नम्बरको बस शुक्रबार बिहान करिब ३ बजे झारखण्डको सतगावाँ क्षेत्रमा मालवाहक ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा रौतहटका तीन जनाको मृत्यु भएको हो ।
दुर्घटनामा गरुडा–६ पोठियाहीका ६० वर्षीय नवलकिशोर जयसवाल, उनकी श्रीमती सुन्दर बाला देवी र १० वर्षीय शिवम महतोको मृत्यु भएको स्थानीयले पुष्टि गरेका छन्।
प्रारम्भिक विवरणअनुसार उक्त बसमा करिब ४५ जना बोलबम तीर्थयात्री सवार थिए। बासुकीनाथको दर्शन सकेर देवघर हुँदै राजगीरतर्फ जाने क्रममा बस दुर्घटनामा परेको हो। तीर्थयात्री सवार नेपाली बसलाई ठक्कर दिने भारतीय ट्रकको नम्बर भने अझै खुल्न सकेको छैन। ट्रकसँग ठोक्किएपछि बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
दुर्घटनालगत्तै सतगावाँ प्रहरीले घटनास्थलमा पुगेर घाइते तीर्थयात्रीहरूको उद्धार गरी उपचारका लागि नजिकैको अस्पताल पठाएको छ। सतगावाँ थाना प्रमुख बब्लु सिंहका अनुसार प्रारम्भिक अनुसन्धानमा बस चालकलाई अत्यधिक निद्रा लागेका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।
दुर्घटनामा मृत्यु तथा घाइते हुने अधिकांश तीर्थयात्री पोठियाही गाउँकै रहेका कारण सिङ्गो गाउँ शोकमा डुबेको छ। घटनाको खबर पाएलगत्तै मृतक तथा घाइतेका आफन्तहरू चारवटा सवारीसाधन रिजर्भ गरेर शुक्रबार बिहानै घटनास्थलतर्फ प्रस्थान गरेका छन्।
मृतकका आफन्त तथा स्थानीय बासिन्दाले मृतक नेपाली नागरिकहरूको शव यथाशीघ्र नेपाल ल्याउने व्यवस्था मिलाउन सरकार र सरोकारवाला निकायसँग माग गरेका छन्।
दुर्घटनामा कति जना घाइते भएका छन् र उनीहरूको अवस्था कस्तो छ भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ।