पोखरा, २९ साउन २०८३।
धनुषामा एकै परिवारका तीन जना पुर्पक्षमा रहने गरी जेल चलान भएका छन्।
जिल्ला अदालत धनुषाको आदेश बमोजिम धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनको श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साह पुर्पक्षमा रहने गरी जेल चलान भएका हुन्।
दृष्टिबन्धक राखिएको जग्गा बैंकमा धितो राखेर करिब चार करोड रुपैयाँ ठगी गरेको आरोप लागेका उनीहरुलाई जिल्ला अदालत धनुषाले पुर्पक्षमा रहने गरी जेल चलान गर्न आदेश दिएको प्रहरीले जानकारी दिएको छ।
अदालतका न्यायाधीश हिरामाया अवालको इजलाशले तीनै जनालाई पुर्पक्षमा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी हेमकुमार महतोले जानकारी दिए ।
उनका अनुसार ९ जनाको मुद्दामध्ये ६ वटा मुद्दामा बहस सकेर पुर्पक्षका लागि तीनै जनालाई कारागार पठाउने आदेश भएको र थप तीन वटा मुद्दामा शुक्रबार पनि सुनवाइ भइरहेको छ ।
अदालतको आदेशसँगै पुर्पक्षका लागि गोपाल र उनका छोरा हरेरामलाई महोत्तरी कारागार तथा रेखा साहलाई सिन्धुली कारागार पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।