Warning: Constant WP_MEMORY_LIMIT already defined in /home/janasanc/public_html/wp-config.php on line 97

Warning: Constant WP_MAX_MEMORY_LIMIT already defined in /home/janasanc/public_html/wp-config.php on line 98
रोल्पाको थवाङमा पहिरो अपडेट : मृत्यु हुनेको संख्या सात पुग्यो, पांच जना अझै बेपत्ता - जनसञ्चार अनलाईन | जनसञ्चार अनलाईन

रोल्पाको थवाङमा पहिरो अपडेट : मृत्यु हुनेको संख्या सात पुग्यो, पांच जना अझै बेपत्ता

रोल्पाको थवाङमा पहिरो अपडेट : मृत्यु हुनेको संख्या सात पुग्यो, पांच जना अझै बेपत्ता


  • जनसञ्चार डट कम संवाददाता
  • बिहिबार, २८ साउन २०८३
  • 1.1K
    Shares

रोल्पा, २८साउन २०८३।

रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षापछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ। साउन २७ गते बेलुका गएको पहिरोमा परी अझै पाँच जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।

पहिरोमा परी हिमाल पुन मगर र संजय घर्तीमगर घाइते भएका छन्। अन्दाजी २२ वर्षीय हिमाल र २५ वर्षीय संजयलाई स्वास्थ्य चौकी थवाङमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।

बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। लगातार वर्षाका कारण लेदोसहित पहिरो खसिरहेकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

पहिरोमा परी मृत्यु हुनेमा १८ वर्षीया शान्ति पुन मगर, अन्दाजी ६५ वर्षीय कमल बहादुर पुन मगर, ४० वर्षीया जुन कुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दल बहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर रहेका छन्।

मृतकमध्ये एक महिला र दुई पुरुषको शव प्यूठानको स्वर्गद्वारी नगरपालिका तथा माण्डवी गाउँपालिकास्थित माडी खोलाको किनारमा फेला परेको प्रहरीले जनाएको छ। शव भेटिएसँगै सशस्त्र प्रहरी बल नेपाल गुल्म प्यूठानबाट समेत विपद् व्यवस्थापनसहितको टोली बेपत्ताको खोजीमा परिचालन गरिएको छ।

पहिरोमा परी बेपत्ता हुनेमा ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बल बहादुर पुन मगर, ७२ वर्षीय लीलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला पुन मगर रहेका छन्।

पहिरोले मृतक कमल बहादुर पुन मगरको घरसहित अन्य घर तथा गोठसमेत पुरिएका छन्। पहिरोमा परी पशुचौपाया समेत बेपत्ता भएका छन्।

बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहे पनि निरन्तरको वर्षा र पहिरो खस्ने क्रम नरोकिएकाले सुरक्षाकर्मीलाई उद्धारमा चुनौती भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया