काठमाण्डौ, २८साउन २०८३।
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे पाँच महिनापछि बुधबार स्वदेश फर्किएका छन्। स्वास्थ्य उपचारका लागि विदेशमा रहेका देउवा साउन २८ गते नेपाल फर्किएसँगै चारबुँदे अपिल सार्वजनिक गरेका हुन्।
स्वदेश फर्किएपछि जारी लिखित सन्देशमा देउवाले आफू ‘नेता बनेर नभई यस महान् राष्ट्रको आजीवन नागरिक बनेर’ फर्किएको बताएका छन्। उनले विनम्रता, समर्पण र प्रेमका साथ देशको सेवा गर्न आफू तत्पर रहेको उल्लेख गरेका छन्।
देउवाले आफ्नो स्वास्थ्यबारे चासो, चिन्ता र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै झण्डै पाँच महिनाको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएको बताएका छन्।
उनको अपिलमा नेपाली कांग्रेसको ऐतिहासिक भूमिका, युवा पुस्ताको आकांक्षा, वर्तमान राजनीतिक परिवर्तन तथा पार्टीभित्रको एकता र राष्ट्रिय सहमतिका विषयलाई प्राथमिकता दिइएको छ।
युवा पुस्ताको आवाजलाई आत्मसात् गर्नुपर्ने धारणा
देउवाले नेपाली कांग्रेसले युवा पुस्ताले माग गरेको परिवर्तनलाई आत्मसात् गरेको बताएका छन्। विश्व बदलिएको भन्दै समयको गतिसँगै अघि बढ्नुपर्ने आवश्यकता उनले औँल्याएका छन्।
गत भदौमा भएको जेनजी आन्दोलनका जायज मागलाई सम्बोधन गर्नुपर्ने धारणा आफूले त्यतिबेलै राखेको पनि देउवाले उल्लेख गरेका छन्। उनले परिवर्तनको अर्थ विगतका पुस्ताको त्याग, बलिदान र संघर्षलाई नकार्नु नभएको बताएका छन्।
लोकतन्त्रमा सत्ता अस्थायी हुने तर जनताको मन बुझ्ने नेता मात्रै स्मरणीय हुने उल्लेख गर्दै उनले जनताको इच्छा र लोकतान्त्रिक जनादेशलाई सम्मान गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
सरकारलाई जनताको आकांक्षा सम्बोधन गर्न आग्रह
देउवाले वर्तमान सरकारको प्रमुख दायित्व जनतामा देखिएको परिवर्तनको आकांक्षा सम्बोधन गर्नु रहेको बताएका छन्। राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर जनताको अपेक्षा पूरा गर्ने दिशामा सरकार अघि बढ्नुपर्ने उनको भनाइ छ।
ताजा जनमतबाट आएको सत्तारूढ दलले जनताको मतको कदर गर्न नसके लोकतन्त्रमा जनता नै निर्णायक हुने देउवाले बताएका छन्। उनले परिवर्तन व्यवस्थापनको प्रक्रियामा आफूहरू सहयोग गर्न तयार रहेको पनि स्पष्ट पारेका छन्।
कांग्रेस एकताबद्ध हुनुपर्नेमा जोड
देउवाले नेपाली कांग्रेसभित्र देखिएको असहमति र निराशा तत्काल समाधान गर्नुपर्ने बताएका छन्। कांग्रेसले आफूभित्र एकता कायम गर्दै अन्य राजनीतिक दलसँग समेत सहमति र सहकार्य गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ।
वर्तमान संविधान लामो संघर्ष र बलिदानबाट प्राप्त भएको उल्लेख गर्दै उनले यसको संरक्षण गर्नुपर्ने र संशोधन आवश्यक भए राष्ट्रिय सहमतिका आधारमा गर्नुपर्ने धारणा राखेका छन्।
कांग्रेसमा देखिएको विवादले मुलुककै राष्ट्रियता कमजोर पार्न सक्ने भन्दै देउवाले नेता–कार्यकर्ता, शुभेच्छुक, समर्थक र मतदातालाई सामूहिकतामा विश्वास गर्दै अघि बढ्न अपिल गरेका छन्।
उनले युवा पुस्ता अघि बढ्नुपर्ने भए पनि पाका र अनुभवी सबै खराब हुन् भन्ने भाष्य सही नभएको बताएका छन्। आफ्नो विगतको राजनीतिक अनुभव नयाँ पुस्तासँग साझा गर्नु आफ्नो दायित्व भएको पनि उनले उल्लेख गरेका छन्।
‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’
देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको बताएका छन्। उनले बीपी कोइराला २०३३ सालमा भारत निर्वासनबाट नेपाल फर्किँदा राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने धारणा राखेको स्मरण गर्दै अहिले पनि सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन्।
विगतका विभाजन र विद्वेषका घाउ निको पार्दै प्रतिशोधको सट्टा मेलमिलापको बाटो रोज्न उनले आह्वान गरेका छन्।
सार्वजनिक जीवनमा रहँदा आफूले राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानेर काम गरेको दाबी गर्दै देउवाले आफ्नो जीवन ‘खुला किताब’ भएको बताएका छन्। बाँकी जीवन पनि राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, संविधान, कानुन र जनताको सर्वोत्तम हितअनुसार समर्पित गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
अपिलको अन्त्यमा देउवाले लेखेका छन्, ‘म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु– विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर।’

