रोल्पाको थबाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु, दुई जना गम्भीर घाइते

रोल्पाको थबाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु, दुई जना गम्भीर घाइते


  • जनसञ्चार डट कम संवाददाता
  • बिहिबार, २८ साउन २०८३
  • 817
    Shares

रोल्पा,२८साउन २०८३।

अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

स्थानीय कमलबहादुर पुन मगरको घरलगायत करिब ६ वटा घर तथा गोठमा बुधबार राति करिब ८ः४० बजे माथिबाट पहिरो खसेर पुरिदा दुई जनाको मृत्यु भएको हो भने थप दुई जना गम्भीर घाइते भएका हुन्।

पहिरोमा परी थबाङ गाउँपालिका–५ बोटलबारा निवासी १८ वर्षीया शान्ती पुन मगर र करिब ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको इलाका प्रहरी कार्यालय उवाले जनाएको छ। पहिरोमा पुरिएका उनीहरूको तत्काल उद्धार गर्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ।

त्यस्तै, पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन्। प्रहरी र स्थानीयवासीको सहयोगमा उनीहरूको उद्धार गरी उपचारका लागि पठाउने पहल भइरहेको प्रहरीले जनाएको छ।

पहिरोमा थप मानिसहरू पुरिएको वा घाइते भएको हुनसक्ने आशंकामा प्रहरीले स्थानीयवासीको सहयोगमा खोजी तथा उद्धार कार्य जारी राखेको छ।

घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोली राति करिब १०ः१५ बजे घटनास्थलमा पुगेपछि प्रारम्भिक विवरण संकलन गरिएको हो।

प्रहरीका अनुसार घटनाबारे थप विवरण खोजी तथा उद्धार कार्यपछि प्राप्त हुने छ ।

तस्बिर – Kaman Pun Magar

See less

प्रतिक्रिया