चितवन , २६ साउन २०८३।
चितवनको भरतपुर महानगरपालिका–२८ जितपुरमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।
आज् बिहान करिब ५ बजे मर्निङवाकमा निस्किएका भरतपुर –२८ जितपुरका स्थानीय ६५ वर्षीय मंगले बोटेलाई बाघले आक्रमण गर्दा मृत्यु भएको हो।
प्रहरीका अनुसार , मंगले बोटे र ५५ वर्षीय जीवन बोटे सँगै मर्निङवाकमा निस्किएका थिए। सोही क्रममा मंगले बोटे बेपत्ता भएका थिए। उनी बेपत्ता भएको खबर बिहान करिब ८ बजे प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। स्थानीयले सो क्षेत्रमा बाघ देखिएको जानकारी दिएपछि प्रहरीले नेपाली सेना, राष्ट्रिय निकुञ्ज प्रशासन, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको समन्वयमा हात्तीको समेत प्रयोग गरी खोजी सुरु गरेको थियो।
खोजीका क्रममा दिउँसो करिब ४ः२० बजे घटनास्थलबाट ४–५ किलोमिटर पूर्वतर्फ राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघले आक्रमण गरेको अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
फेला परेको शव मंगले बोटेको रहेको उनका छोराले सनाखत गरेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। एईल तयार गरेको चित्र